चितवन । २०७८ सालमा गरिने राष्ट्रिय जनगणनाका लागि रू. ५ अर्ब खर्च लाग्ने प्रक्षेपण गरिएको छ भने ५० हजार गणक परिचालन गरिने भएको छ । केन्द्रीय तथ्यांक विभाग र तथ्यांक कार्यालय चितवनले आइतवार भरतपुरमा संयुक्त रूपमा आयोजना गरेको ‘राष्ट्रिय जनगणना–२०७८ को तयारी’ विषयक गोष्ठीमा उक्त जानकारी दिइएको हो ।
कार्यालयका अनुसार २०६८ सालको जनगणनामा ३० हजार गणक खटाइए पनि अहिले सूचकहरू थपिएको र सूक्ष्मरूपले तथ्यांक संकलन गर्न लागिएकाले २० हजार बढी गणक आवश्यक परेको हो । यससँगै खर्च पनि बढी लाग्ने कार्यालयले बताएको छ । अघिल्लो जनगणनामा रू. २ अर्ब खर्च भएको थियो ।
कर्मचारीको तलबभत्ता र छपाइसम्बन्धी लागत बढी हुने भएकाले रू. ५ अर्ब खर्च अनुमान गरिएको केन्द्रीय तथ्यांक विभाग, जनसंख्या शाखा निर्देशक ढुण्डीराज लामिछानेले बताए । संघीय संरचनाअनुसार तीनओटै तहसँगको समन्वयमा विभिन्न चरणबाट जनगणना गर्न लागिएको उनले जानकारी दिए । ‘अहिले जनगणना पहिलेको भन्दा पृथक् एवं प्रविधिमैत्री ढंगले गरिनेछ,’ उनले भने । उनका अनुसार शहरी इलाकामा ट्याब्लेट, सफ्टवेयर एवं इन्टरनेट र दुर्गमा क्षेत्रमा कागजी माध्यमबाट तथ्यांक संकलन गरिनेछ ।
विभागका उपमहानिदर्शे क डिल्लीराज जोशीले जनगणनाले देशको नीति निर्माण तथा योजनामा सरकारलाई सहयोग पुग्ने बताए । अब हुने जनगणना तथ्यपरक, चुस्त दुरुस्त बनाउन विभाग केन्द्रित रहेको उनको भनाइ छ । ‘प्रत्येक घरको रोजगारी, शिक्षा, व्यवसाय, घरको पूर्वाधारलगायत सबै सूचकको सूक्ष्म तरीकाले तथ्यांक लिइनेछ,’ उनले भने ।
यसरी संकलित तथ्यांक विश्वसनीय हुने बताउँदै उनले यसले देशको कुल गार्हस्थ्य उत्पादन एवं विकास कार्यक्रममा समेत सहयोग पुग्ने दाबी गरे । कार्यक्रममा तथ्यांक कार्यालय, चितवनका प्रमुख जीवराज आचार्यले चितवनका लागि यहाँको जनसंख्याको आधारमा विभागले गणक संख्या र अनुमानित खर्च तोक्नेछ । जनगणनाको पूर्वतयारी शुरू भएको बताउँदै विभागले २०७८ असार १ देखि १५ गतेसम्म जनगणनाको मिति तोकेको छ । कार्यक्रममा सहभागी अन्य वक्ताले अघिल्ला जनगणना तथ्य तथा यथार्थपरक नभएकाले काम गर्न अफ्ठ्यारो परेको बताउँदै यसमा गम्भीर रहन विभागलाई आग्रह गरेका थिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.