काठमाडौं । मंगलवार र बुधवार राष्ट्रिय परिचयपत्र व्यवस्थापन सर्भरमा समस्या आएपछि देशभरिका सेवाग्राही मारमा परेका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार उक्त सफ्टवेयरको सेवा करीब ३० घण्टापछि बुधवार दिउँसो पुन: सुचारु भएको छ । मंगलवार बिहानदेखि अवरुद्ध भएको सफ्टवेयर बुधवार ३ बजेपछि मात्रै सुचारु भएको हो ।
सफ्टवेयर अवरुद्ध हुँदा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड वितरणसम्बन्धी सेवा अवरुद्ध भएको थियो । विभागको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाले राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको सर्भर मर्मतको क्रममा रहेको भन्दै मंगलवार र बुधवार छुट्टाछुट्टै सूचना निकालेको थियो ।
मंगलवार बिहान ९ बजेतिर सफ्टवेयरमा समस्या देखिएको र मर्मतसम्भारपछि बुधवार दिउँसो करीब ३ बजेबाट सफ्टवेयरले काम गर्न थालेको विभागका सामाजिक सुरक्षा शाखा निर्देशक सानुबाबु अधिकारीले जानकारी दिए ।
‘राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको सर्भर मर्मतको क्रममा रहेको र मर्मत पूरा नभएकाले राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड वितरणसम्बन्धी सेवा अवरुद्ध भएको बेहोरा सबै सेवाग्राहीको सहजताका लागि यो सूचना प्रकाशन गरिएको छ । यस विभागबाट मर्मतको कार्य भइरहेकोले निकट भविष्यमा सेवा प्रवाह सुचारु हुने बेहोरा जानकारी गराउँदछौं । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति विभाग क्षमाप्रार्थी छ,’ विभागले जारी गरेको सूचनामा भनिएको थियो ।
‘सर्भरमा आएको समस्याबारे प्राविधिक टोलीले अध्ययन गरी बुधवार मर्मत कार्य पूरा गरेको हो । प्राविधिक टोलीले बताएअनुसार सफ्टवेयरमा धेरै लोड परेको कारण सर्भर डाउन भएको हो । सर्भरको क्षमता बढाउनेबारेमा पनि छलफल भइरहेको छ,’ अधिकारीले भने, ‘आगामी दिनमा यस्ता समस्या आउन नदिई चुस्त दुरुस्त सेवा प्रवाह गर्ने हिसाबले विभागले काम गरिरहेको छ ।’
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सफ्टवेयरमा समस्या देखिँदा राहदानी विभागको काम समेत प्रभावित भएको थियो । राहदानी विभागका सबै सेवा अफलाइनमार्फत सञ्चालन भएका थिए । बुधवार दिउँसो सफ्टवेर सञ्चालनमा आएसँगै अफलाइनमा गरिएका सबै काम अनलाइनमा अपडेट गरिएको विभागले जनाएको छ ।