काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सफ्टवेयरमा बिहानैदेखि समस्या देखिएको छ । जसको कारण विभागका प्रमुख तीन कार्यहरू राष्ट्रिय परिचयपत्र, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी काममा बाधा भइरहेको विभागले जनाएको छ ।
विभागको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाले राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको सर्भर मर्मतको क्रममा रहेकोले आज मंगलवार राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड वितरण सम्बन्धी सेवा अवरुद्ध हुने जनाएको छ ।
'राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको सर्भर मर्मतको क्रममा रहेकोले आज मिति २०८१/११/२७ गते राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड वितरण सम्बन्धी सेवा अवरुद्ध भएको व्यहोरा सबै सेवाग्राहीको सहजताका लागि यो सूचना प्रकाशन गरिएको छ । यस विभागबाट मर्मतको कार्य भैरहेकोले निकट भविष्यमा सेवा प्रवाह सुचारु हुने व्यहोरा जानकारी गराउँदछौं । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति विभाग क्षमाप्रार्थी छ,' विभागले जारी गरेको सूचनामा भनिएको छ ।
हाल राहदानी विभाग हेरिरहेका विभागका टेक्निसियन ज: डंगोलका अनुसार विभागको सफ्टवेयरमा समस्या देखिंदा राहदानी विभागको काम समेत प्रभावित भइरहेको छ । हाल अफलाइनमा विभागका काम भइरहेको तथा मर्मतको क्रममा रहेको सफ्टवेर सञ्चालनमा आएपछि अपडेट गरिने जानकारी दिए । उनले हाल मर्मतको काम भइरहेकाले कतिबेला देखि सञ्चालन हुन्छ भन्नेबारे समय नै तोकेर भन्न नसकिने बताए ।