काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच कम्पनीका कर्मचारीलाई ‘पेशाकर्मी सरल कर्जा’ प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र खाद्यका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा खाद्यमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीलाई कार्यालयको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने उल्लेख छ । बैंकले आधार ब्याजदरमा २ प्रतिशत प्रिमियम जोडी कर्जा लगानी गर्ने बताइएको छ । हाल बैंकको आधार दर ६ दशमलव ६६ प्रतिशत रहेको छ । सम्झौताअनुसार कम्पनीका कर्मचारीको तलबी खाता बैंकले सञ्चालन गर्नेछ ।
उक्त अवसरमा कम्पनीका विभागीय प्रमुखहरू डिल्लीराज लम्साल, घनश्याम अर्याल, अधिकृत रामसफल साह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरू विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, रामकुमार थापा, विभागीय प्रमुख आनन्द सुवेदी, उपप्रमुख दिनेश न्यौपाने, शाखा कार्यालय थापाथलीका शाखा प्रबन्धक विक्रममान श्रेष्ठ लगायत कर्मचारीको उपस्थिति थियो ।