काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले अवितरित ११ लाख ३५ हजारभन्दा बढी कित्ता हकप्रद शेयर बिहीवार (भोलि)बाट विक्री गर्ने भएको छ । कम्पनीको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्कासनका क्रममा विक्री नभएको ११ लाख ३५ हजार ६५७ कित्ता शेयर लिलामी प्रक्रियामार्फत विक्री गर्न लागेको हो ।
यो शेयरमा इच्छुक जो कोही व्यक्ति, कम्पनी र संघ संस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्ने अन्तिम मिति २०८१ वैशाख ९ गतेसम्म तोकिएको छ ।
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि खरीद आवेदन दिन सकिनेछ । विक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
आवेदकले बोलपत्र धितोपत्र विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरू थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुंगा (पोखरा), बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सक्नेछन् ।