भदौ २९, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले असार १३ गतेदेखि साउन ३१ गतेसम्म विक्री गरेको आईपीओ भदौ २८ गते बाँडफाँट गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको १० प्रतिशत अर्थात् ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्कासन गरी बाँडफाँट गरेको जानकारी दिएको हो । आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ थुमन र वडा नं २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका-४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीले यो आईपीओ खरीदका लागि आवेदन दिएका थिए ।
निष्कासन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुट्याएर बाँडफाँट गरिएको कम्पनीको भनाइ छ । यो आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सहविक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल रहेका छन् ।