साउन ३१, काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने मंगलवार (आज) अन्तिम दिन हो ।
कम्पनीले असार १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि रु. १०० अंकित दरको ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ निष्कासन गरेको हो ।
आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.१ थुमन र वडा नं २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीका लागि उक्त आईपीओ निष्कासन गरेको हो ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म मंगलवार (आज) बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
उक्त आईपीओमा मेरो शेयर वेबसाइट र एपबाट आवेदन दिन सकिनेछ । यसका साथै सी-आस्बा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरूबाट आवेदन दिन सकिनेछ ।
उक्त आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल रहेका छन् ।