के हो सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ?
विभिन्न व्यक्ति वा संस्थाको सहभागिता रहनेगरी परिचालित बचत लगानी रकम आफ्नो जिम्मामा लिएर त्यसको दक्ष लगानी सेवाद्वारा प्राप्त प्रतिफल सम्बन्धित कार्यक्रमका सहभागीलाई समानुपातिक रूपले वितरण गर्न योजना व्यवस्थापकले सञ्चालन गरेको लगानी कोषलाई सामूहिक लगानीकोष (म्युचुअल फन्ड) भनेर बुझ्न सकिन्छ । म्युचुअल फन्डको संरचनामा कोष प्रवर्द्धक, कोष सुपरिवेक्षक, योजना व्यवस्थापक र डिपोजिटरी रहेका हुन्छन् । म्युचुअल फन्डले सामूहिक लगानीबाट संकलित पूँजीले विभिन्न योजना सञ्चालन गर्दछन् । सामूहिक लगानी योजना ट्रस्टको रूपमा स्थापना हुन्छ । म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने योजना बन्दमुखी योजना र खुलामुखी योजना गरी दुई प्रकारका हुन्छन् ।
खुलामुखी योजना कसरी सञ्चालन गरिन्छ ?
योजनाबाट संकलन गरिने रकमको मात्रा तथा समयसीमा नतोकी कुनै पनि समयमा लगानीकर्तालाई इकाइ विक्री गर्न सकिनेगरी जारी गरिएको सामूहिक लगानी योजनालाई खुलामुखी योजना भनिन्छ । यस प्रकारको योजनामा योजना व्यवस्थापकले जति पनि संख्यामा योजना इकाइ विक्री गर्न सक्नेछन् र लगानीकर्ताले इकाइ विक्री गर्न आएमा पुुनः खरीद पनि गरिदिन सक्नेछन् । यस्ता योजनामा तरलता बढी हुन्छ । खुलामुखी योजना धितोपत्र बजारमा सूचीकृत नहुने भएकाले दोस्रो बजारमा कारोबार हुँदैन । नेपालमा पनि यस्ता योजना सञ्चालन हुने क्रममा छन् ।
बन्दमुखी योजना कस्तो हुन्छ ?
निश्चित रकम र अवधि तोकी लगानीकर्तालाई इकाइ विक्री गरिने सामूहिक लगानी योजनालाई बन्दमुखी योजना भनिन्छ । यस प्रकारको योजनामा एकपटक इकाइ जारी गरेपछि तोकिएको समयावधिभर सो योजनाअन्तर्गत थप इकाइ जारी गरिँदैन र तोकिएको समयावधि भुक्तानी भएपछि लगानीकर्तालाई रकम फिर्ता गरिन्छ । बन्दमुखी योजना नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुन्छ । हाल नेपालमा बन्दमुखी योजना मात्र सञ्चालनमा छन् ।
यस्ता योजनाले कुन कुन क्षेत्रमा लगानी गर्न सक्नेछन् ?
- बोर्डमा दर्ता भएको धितोपत्र
- सार्वजनिक निष्कासन भएको धितोपत्र
- धितोपत्र बजारमा सूचीकृत धितोपत्र
- नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुनेगरी सरकारी स्वामित्वमा रहने कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेका ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरू– – बैंक निक्षेप – मुद्रा बजार उपकरण – बोर्डले तोकिएको अन्य क्षेत्र । बोर्डले क्षेत्र तोक्दा सम्बन्धित क्षेत्रमा लगानी गर्दा पालना गर्नुपर्ने शर्तसमेत तोकिदिनेछ । यसका अलावा कुनै निश्चित क्षेत्रमा मात्र लगानी गर्नेगरी बोर्डबाट स्वीकृतिप्राप्त योजनाले भने सोही क्षेत्रमा मात्र लगानी गर्नुपर्नेछ । योजना व्यवस्थापकले योजनाको रकम लगानी देहाय बमोजिमको सीमाभित्र रही गर्नुपर्नेछ :
- कुनै एक कम्पनीको साधारण शेयरमा त्यस्तो संस्थाको कुल चुक्तापूँजीको १० प्रतिशतभन्दा बढी नहुनेगरी
- कुनै एक कम्पनीले निष्कासन गरेको धितोपत्रमा योजनको कुल रकमको १० प्रतिशतभन्दा बढी नहुने गरी
- अन्य सामूहिक लगानीकोष अन्तर्गतको योजनामा आफ्नो योजनाको बीमा प्रतिशतभन्दा बढी नहुनेगरी
- बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुनेगरी
- मुद्रा बजार उपकरणमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुनेगरी