काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ९२ हजार ६५७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । मङ्सिर २४ गते सूचना जारी गर्दै कम्पनीले ३५ दिनभित्र शेयर खरीदका लागि आवेदन पेस गर्न आह्वान गरेको हो ।
कम्पनीले प्रतिकित्ता ३४८ रुपैयाँ मूल्य तोकेर यी शेयर विक्रीमा ल्याइएको हो । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले मङ्सिर २४ गतेपछि प्रस्ताव हुने हकप्रद शेयर र बोनस शेयर तथा लाभांश प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ ।
मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम उक्त प्रस्ताव संशोधन गरी १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।