काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले फागुन ६ गतेदेखि निष्कासनमा ल्याएको सानिमा फ्लेक्सी फण्डको इकाई आजसम्म मात्र विक्री रहने भएको छ ।
क्यापिटलले छिटो अवधि फागुन ११ गतेसम्म मागबमोजिम आवेदन नपरेपछि फागुन २० गतेसम्म विक्रीमा रहने बताएको थियो । फागुन १५ गतेभित्र नै मागभन्दा बढी आवेदन परेकाले विक्री बन्द गर्न लागिएको जानकारी क्यापिटलले दिएको छ ।
यस योजना सञ्चालनका लागि क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गरेकोे हो । कुल इकाईमध्ये पहिलो चरणमा ४० प्रतिशत अर्थात् ४ करोड इकाई निष्कासनमा ल्याएको हो ।
निष्कासन गर्ने इकाईमध्ये योजनाको कुल आकारको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाईमध्ये योजना व्यवस्थापक सानिमा क्यापिटललाई २० लाख कित्ता सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणमा २ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमा ल्याइएको हो ।
यी इकाई खरीदका लागि आवेदन दिँदा न्यूनतम १०० कित्तादेखि अधिकतम ४० लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । योजना व्यवस्थापकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
नेपाल धितोपत्र बोर्डले क्यापिटलाई माघ २ गते यस योजना सञ्चालनका लागि इकाई निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।