काठमाडौं । लघुबीमा कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएका छन् । नेपाल बीमा प्राधिकरणले सातओटा कम्पनीलाई लघुबीमा कम्पनीको लाइसेन्स वितरण गरेको थियो । प्राधिकरणले तीन लघुजीवन बीमा र चार निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो ।
हाल लघुबीमा कम्पनीहरुको चुक्तापूँजी ५२ करोड ५० लाख रुपैयाँ छ ।
लघु जीवन बीमा तर्फ क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओे निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरिसकेका छन् ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।
त्यस्तै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि साढे २२ लाख अर्थात २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । यी कम्पनीले अव आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि आईपीओ निष्कासन गर्नेछन् ।
यी दुई कम्पनी बाहेक अन्य नयाँ लघुबिमा कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराईसकेका छन् ।
लघु जीवनबीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइत्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघुबीमाको लाइसेन्स पाएका थिए ।
त्यस्तै, लघु निर्जीवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएका थिए ।