काठमाडौं । साविकको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू.२१ करोडभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा १० प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. १८ करोड ९५ लाख नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवमा रू. २९ करोड ३१ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २९ करोड ५१ लाख पुगेको छ ।
चुक्तापूँजी रू. ३ अर्ब १४ करोड रहेको कम्पनीले जगेडामा रू. ४६ करोड ३८ लाख, जीवन बीमा कोषमा रू. २१ अर्ब ५३ करोडभन्दा बढी र महाविपत्ति कोषमा रू. २१ करोड ४३ लाख सञ्चित गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ३ अर्ब ३० करोडभन्दा बढी खुद बीमा शुल्क आर्जन गरेको छ ।
सो अवधिमा कम्पनीले रू. ९८ करोड ३३ लाख दाबी भुक्तानी गरेको छ भने रू. ४ करोड ३० लाख दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ९२, मूल्य आम्दानी अनुपात ४३ दशमलव ६२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव ५९ रहेको छ ।