काठमाडौं । सैदी पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ७० हजार ४९ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको हो ।
यसका लागि कम्पनीले कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतापत्रमा सैदी पावरका तर्फबाट सञ्चालक समितीका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
कम्पनीले अब आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले कास्की जिल्लामा अवस्थित सैती खोलाको पानी सदुपयोग गरी ९९९ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाले २०७९ देखि व्यावसायिक विद्युत् उत्पादन गर्दै आएको छ ।
यस आयोजनाबाट उत्पादित विद्युत् शक्ति हेम्जा बास्कोट सवस्टेशनमा जडान गरी विक्री भइरहेको कम्पनीले जनाएको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गर्ने योजना बनाएको जनाएको छ ।