काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २६ गते छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर, तनहुँमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २७ करोडको आधारमा १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उल्लेखित प्रस्तावहरूसँगै सभाले प्रबन्धपत्र संशोधन र अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १२ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।