कुनै निश्चित अवधिको आम्दानी र खर्चको लेखालाई बजेट भनिन्छ । बजेट व्यक्ति, परिवार, संघसंस्था र सरकारले बनाउने गर्छन् । समयावधिका हिसाबले आवश्यकताअनुसार बजेट दैनिक, मासिक, अर्धवार्षिक, वार्षिक बनाउन सकिन्छ । यस्तो बजेट व्यक्ति/परिवारले सामान्यतया आफ्नो आम्दानी प्राप्त हुने समयलाई दृष्टिमा राखेर बनाउने गर्छन् भने संघसंस्था र सरकारले वार्षिक रूपमा बनाउने गरेको पाइन्छ । यसरी बनाएको बजेट संघसंस्था र सरकारले मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा समीक्षा गर्ने गर्छन् भने व्यक्ति/परिवारले जुनसुकै समयमा पनि समीक्षा गरी खर्चलाई आफ्नो सीमाभित्र राख्ने प्रयास गरिरहेका हुन्छन् । आम्दानी र खर्चको आधारमा बजेट बचत, सन्तुलित र घाटा गरी तीन प्रकारले बनाउन सकिन्छ । विकासोन्मुख र लोककल्याणकारी राज्यले आम्दानी न्यून हुँदाहुँदै पनि मुलुकमा थुप्रै सामाजिक र भौतिक विकासका कार्यहरू गर्नुपर्ने भएकाले सामान्यतया घाटा बजेट बनाउने गर्छ भने व्यक्ति/परिवारले बचत बजेटलाई नै प्राथमिकता दिनुपर्छ ।
सार्वजनिक बजेटको प्रचलन सत्रौं शताब्दीमा बेलायतबाट शुरू भएको मानिन्छ । त्यसैगरी अनौपचारिक रूपमा प्राचीन कालदेखि नै पारिवारिक बजेट बनाउने गरिए पनि अठारौं शताब्दीको औद्योगिक क्रान्तिपश्चात् ज्यालामा आधारित पेशाले परम्परागत कृषि पेशालाई प्रतिस्थापन गरेसँगै औपचारिक रूपमा पारिवारिक बजेट बनाउने प्रचलन शुरू भएको पाइन्छ । उन्नाइसौं शताब्दीदेखि पश्चिमी यूरोपेली मुलुक र उत्तरी अमेरिकी मुलुकहरूमा औपचारिक रूपमा पारिवारिक बजेट बनाउने प्रचलन शुरू भएसँगै यसको विस्तारले गति लिएको पाइन्छ । पारिवारिक बजेट बनाई सोभित्र रहेर आफ्नो व्यवहार चलाउँदा पारिवारिक समृद्धि र सन्तुष्टि पाउन सकिने भएकाले पछिल्लो समय पारिवारिक बजेटको अवधारणा विश्वव्यापी भइसकेको छ । यस आलेखमा पारिवारिक बजेटको विविध पक्षका बारेमा चर्चा गरौं ।
पारिवारिक बजेट बनाउँदैमा परिवारको आर्थिक अवस्थामा आक्रामक रूपले सुधार भई अस्वाभाविक धनी भइँदैन, बिस्तारै आर्थिक अवस्थामा स्वाभाविक रूपले सुधार भई गुणस्तरीय जीवनयापन गर्न सकिन्छ ।
कुनै परिवारले निश्चित समयावधिको लागि बनाएको आम्दानी र खर्चको लेखालाई पारिवारिक बजेट भनिन्छ र यसभित्र बचत, ऋण, लगानी लगायतका विषयहरू पनि समेटिएको हुन्छ । पारिवारिक बजेट यति नै समयावधिको बनाउनुपर्छ भन्ने सर्वमान्य मान्यता नभए पनि हाम्रो सन्दर्भमा सामान्यतया मासिक रूपमा बनाइएको पारिवारिक बजेटलाई आदर्श बजेट मान्ने गरिन्छ । परिवारका सबै सदस्यबीच छलफल गरेर पारिवारिक बजेट बनाउँदा सबैलाई पारिवारिक आय र व्ययका बारेमा जानकारी हुने भएकाले दैनिक जीवनयापनका लागि आवश्यक पर्ने खर्च तथा मध्यमकालीन र दीर्घकालीन वित्तीय लक्ष्यहरू प्राप्ति गर्न सहज हुन्छ । आम्दानी र खर्चको यथार्थ विवरण थाहा हुने भएकाले परिवारका सबैलाई आफ्नो बजेटको सीमाभित्र बस्न सिकाउँछ । मुद्रास्फीति वा अन्य कारणले वस्तुको बजार मूल्यमा वृद्धि भई बजेटमा निर्धारण गरिएको खर्च नपुग हुने अवस्था आएमा खर्चलाई ट्र्याक गरी बजेटको सीमाभित्र ल्याउनुपर्ने कारणले पारिवारिक बजेटले परिवारका सदस्यलाई वित्तीय अनुशासनमा बस्ने बानीको विकास गराउने हुँदा बचत गर्ने बानीको विकास हुन्छ ।
परिवारको आम्दानी पारिवारिक बजेटको महत्त्वपूर्ण पक्ष हो । राम्रो परिवारिक आम्दानीले बजेट बनाउन सहज हुनुका साथै नियमित बचतको मात्रालाई बढाउन सकिन्छ । यसका लागि भइरहेको आम्दानीमा थप आम्दानी गर्ने, अतिरिक्त समय काम गर्ने, अहिलेको भन्दा बढी कमाइ हुने कामको खोजी गर्ने, धेरै परिश्रम गर्ने, व्यापार व्यवसाय शुरू गर्ने वा सञ्चालनमा रहेको भए सोको विस्तार गर्ने, लगानीको विविधीकरण वा राम्रो प्रतिफल आउने क्षेत्रतर्फ लगानी केन्द्रित गर्नेलगायत कार्यले परिवारको आम्दानी बढाउन सकिन्छ । ऋण लिई आयमूलक कार्य/व्यवसाय गर्नुपर्ने भएमा आफ्नो आम्दानी र बचतले ऋणको साँवाब्याज तिर्न सक्ने वा नसक्ने विश्लेषण गरेर मात्र औपचारिक स्रोतबाट कर्जा लिनुपर्छ । यसका साथै खर्च नियन्त्रण पनि आम्दानी बढाउने एउटा महत्त्वपूर्ण उपाय भएकाले आम्दानीअनुसारको खर्च गर्ने बानीको विकास गर्नुपर्छ ।
धेरै आम्दानी गरेरभन्दा खर्चको पाटोलाई व्यवस्थित बनाउन सकियो भने धनी बन्न सकिन्छ भन्ने विश्वव्यापी मान्यता रहेको छ । तर, प्रसिद्ध अमेरिकी लेखक प्रैंmक ए क्लार्कले भने जस्तै धेरै मानिसलाई पैसा कसरी कमाउने भन्ने बारेमा जानकारी हुँदैन, तर उनीहरू खर्च गर्न भने खप्पिस हुन्छन् भन्ने भनाइ धेरैको व्यवहारसँग मेल खाएको देखिन्छ । त्यसैले आम्दानी अनुसारको खर्चका सीमा निर्धारण गर्नेतर्फ सदैव ध्यान दिनुपर्ने हुन्छ । खर्चको प्रकृतिको आधारमा यसलाई अत्यावश्यक खर्च, चाहनाको खर्च र फजुल खर्च गरी तीन वर्गमा वर्गीकरण गर्न सकिन्छ । दैनिक जीविकोपार्जनका लागि नगरी नहुने खर्चलाई अत्यावश्यक खर्च, मनोरञ्जन तथा सामाजिक पक्षको व्यवस्थापनलगायत आफ्नो इच्छाअनुसार गरिने खर्चलाई चाहनाको खर्च र गर्नै नहुने भन्ने बुझ्दाबुझ्दै पनि गरिने खर्चलाई फजुल खर्च भनिन्छ । अत्यावश्यक खर्चविना हाम्रो दैनिकी नै चल्न सक्दैन, चाहनाको खर्चले सन्तुष्टि र सामाजिक प्रतिष्ठा कायम राख्न सहयोग गर्छ भने फजुल खर्चले हामीलाई गरीब बनाउनुका साथै मानवीय जीवनलाई नै हानिनोक्सानी पुर्याउँछ । त्यसैगरी हामीले गर्ने खर्चमा अनावश्यक खर्चको अंश पनि रहने गर्छ । यस्तो खर्चलाई नियन्त्रण गर्न सकियो भने बचत वृद्धि गर्न सहयोग पुग्छ ।
खर्चलाई व्यवस्थित बनाउन सकिएन भने बचत गर्ने कुरा त परै जाओस् आम्दानीको सम्पूर्ण रकम नै खर्च हुने र थप खर्च गर्न रकम नपुग भई अत्यावश्यक खर्चका लागि समेत ऋण लिनुपर्ने अवस्था सृजना हुनसक्छ ।
पारिवारिक बजेटको मुख्य उद्देश्य आम्दानी र खर्चलाई विवेकपूर्ण तरीकाले व्यवस्थापन गरी बचतलाई नियमित रूपले वृद्धि गर्दै जानु हो । बचतबाट अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन लक्ष्यहरू प्राप्ति गर्न, अवकाश जीवनलाई सुखमय बनाउन, आकस्मिक र आपत्कालीन खर्चको जोहो गर्न, बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको किस्ता तिर्न र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई व्यापार/व्यवसाय गर्नुपर्ने भएमा स्वपूँजीको व्यवस्था गर्न सकिने भएकाले मानिसको जीवनमा बचत अनिवार्य र महत्त्वपूर्ण हुन्छ । प्रसिद्ध अमेरिकी कूटनीतिज्ञ बेन्जामिन पै्रंmकलिनले भनेजस्तै मानिसलाई धनी हुने इच्छा छ भने महँगो सामान किन्न छोडेर बेलैमा बचत गर्नुपर्छ । वास्तवमै खर्चलाई व्यवस्थित बनाउन सकिएन भने बचत गर्ने कुरा त परै जाओस् आम्दानीको सम्पूर्ण रकम नै खर्च हुने र थप खर्च गर्न रकम नपुग भई अत्यावश्यक खर्चका लागि समेत ऋण लिनुपर्ने अवस्था सृजना हुनसक्छ । यसरी खर्चलाई व्यवस्थित गर्न नसकै कारण धनी व्यक्तिहरू पनि केही समयको अन्तरालमा गरीब भएका र खर्च व्यवस्थित गर्दै अघि बढ्नेहरूको आर्थिक अवस्था बलियो भएका दृष्टान्तहरू हाम्रो समाजमा प्रशस्तै देख्न सकिन्छ । मानिसका लागि स्वस्थ्य महत्त्वपूर्ण कुरा हो ।
स्वस्थ्यमा हुने खर्च अत्यावश्यक खर्चअन्तर्गत पर्ने भएकाले स्वस्थ्यमा समस्या उत्पन्न भएमा यस्तो खर्च बाध्यकारी हुने गर्छ । त्यसैले स्वास्थ्यसम्बन्धी खर्चलाई न्यूनीकरण गर्न सकेमा अप्रत्यक्ष रूपमा बचत भएको मान्न सकिन्छ । यसका लागि नेपाल सरकारले ७७ जिल्लामा लागू गरेको स्वस्थ्य बीमा कार्यक्रम उपयोगी र उपयुक्त कार्यक्रम हुनसक्छ । स्वस्थ्य बीमा कार्यक्रमअन्तर्गत ५ जनासम्मको परिवारलाई रू. ३ हजार ५०० प्रिमियम तिरेर १ वर्षका लागि रू. १ लाखसम्मको औषधोपचार गर्न पाइने, परिवारका थप प्रतिसदस्यलाई रू ७०० प्रिमियम तिरेर थप रू. २०,००० बराबरको औषधोपचार गर्न पाइने, ७० वर्षभन्दा माथि उमेर पुगेका वृद्धवृद्धाका लागि प्रिमियम विना नै यस कार्यक्रममा सहभागी हुन पाइनेलगायत व्यवस्थाको उपयोग गर्न सकिन्छ भने स्थानीय निकायमार्फत सरकारले सर्वसाधारण जनतालाई विभिन्न प्रकारका औषधि नि:शुल्क वितरण गर्ने भएकाले त्यसको उपयोग गरी लाभ लिन सकिन्छ । यसरी उल्लिखित दुवै कार्यक्रममा सहभागी भएर औषधोपचारका लागि खर्च हुने रकमलाई बचत गर्न सकिन्छ ।
पारिवारिक बजेट बनाउँदैमा परिवारको आर्थिक अवस्थामा आक्रमक रूपले सुधार भई अस्वाभाविक धनी हुने नभई सहभागीतामूलक पारिवारिक बजेटको प्रभावकारी कार्यान्वयन गर्न सकेमा आर्थिक अवस्थामा स्वाभाविक रूपले सुधार भई अवश्य पनि आजभन्दा भोलि गुणस्तरीय जीवनयापन गर्न सकिन्छ । यसरी पारिवारिक बजेटको माध्यमबाट वित्तीय अनुशासन कायम गरी आफ्नो क्षमताअनुसारको बचत गर्न र उक्त बचतलाई बैंक तथा वित्तीय संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गर्ने, नागरिक बचतपत्र र वैदेशिक बचतपत्र खरीद गर्ने, धितोपत्र बजारमा प्राथमिक निष्कासन तथा दोस्रो बजारमा लगानी गर्ने, घरजग्गा तथा अन्य व्यवसायमा लगानी गर्नेलगायत कार्य गरी परिवारको आर्थिक पाटोलाई बलियो बनाउन सकिन्छ ।
लेखक नेपाल राष्ट्र बैंकबाट प्रमाणित वित्तीय साक्षरता प्रशिक्षक हुन् ।