काठमाडौं । धौलागिरी लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ । लाभांश प्रस्तावसम्बन्धी सूचना समयमै जानकारी नगराएको भन्दै रोकिएको कम्पनीको शेयर कारोबार मंगलवारबाट खुला भएको हो ।
कम्पनीले लाभांश प्रस्तावसम्बन्धी सूचना समयमै उपलब्ध नगराएको भन्दै नेप्सेले गत कात्तिक २४ गते कम्पनीको कारोबार स्थगन गर्ने निर्णय गरेको थियो । नेप्सेका अनुसार कम्पनीको गत कात्तिक २२ गते अपराह्न ४ बजे बसेको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश त्यसको भोलिपल्ट बेलुका ६ः१५ बजे मात्र नेप्सेलाई जानकारी गराएको थियो ।
धितोपत्र सूचीकरण विनियमावलीमा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना वा निर्णय भएकै दिन वा भोलिपल्ट कारोबार खुल्नुअगावै नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने हुन्छ ।
कम्पनीले उक्त विनियमावलीको व्यवस्था अनुसार तोकिएको समयमा उक्त सूचनाबारे जानकारी नदिएपछि नेप्सेले गत कात्तिक २४ गते कम्पनीको कारोबार स्थगन गर्ने निर्णय गरेको थियो । साथै नेप्सेले तीन दिनभित्र समयमै लाभांशसम्बन्धी जानकारी दिन नसकिएको कारणबारे स्पष्टीकरण पनि पेस गर्न निर्देशन दिएको थियो ।
त्यसपछि कम्पनीले मङ्सिर ४ गते नेप्सेलाई स्पष्टीकरण पठाएको छ । उक्त स्पष्टीकरणमा कम्पनीले सर्भर मेलमा समस्या आएका कारण समयमा जानकारी गराउन नसकिएको बताएको छ । साथै आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
कम्पनीले उक्त प्रतिवद्धता जनाएपछि नेप्सेले सचेत गराउँदै मङ्सिर ५ गतेबाट कारोबार खुला गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १३ करोड ३१ लाख १ लाख रुपैयाँ छ ।