काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले रू. ५ करोड ४० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. ६ करोड ५९ लाख पुगेको हो । चालू आवमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. १३ करोड ८९ लाख रहेकोमा चालू आवमा बढेर रू. १५ करोड ४४ लाख पुगेको छ ।
त्यस्तै कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा विद्युत विक्रीबापत रू. १६ करोड ३३ लाख आम्दानी गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ १३ पैसा, मूल्य आम्दानी अनुपात ३१ दशलमव ५६ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ११ रुपैयाँ ३ पैसा रहेको छ ।
त्यस्तै कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १२ करोड रहेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १२ करोड ३५ लाख सञ्चिती गरेको छ ।