शेयर बजार सुधारात्मक
साताको पहिलो दिन ३ सय ३३ दशमलव २४ अङ्कबाट कारोबार शुरू भएको नेप्से परिसूचक अन्तिम दिन ३ सय ४० दशमलव ९६ अङ्कमा पुगेर बन्द भयो । साताको पहिलो र अन्तिम कारोबारमा कमी आए पनि अन्य दिनको कारोबारमा झीनो सुधार देखिएको छ । कारोबार भएको चौथो दिन बैङ्किङ, जलविद्युत् समूहमा आएको वृद्धिले नेप्सेमा सकारात्मक प्रभाव परे पनि अन्तिम दिन प्राय: सबै समूहको परिसूचकमा कमी आएको छ । समग्रमा साताभरिको कारोबारअनुसार नेप्से बढ्दो अवस्थामा नै देखिएको छ ।
साताको अन्तिम दिनको कारोबारमा धेरै उतारचढाव देखियो । अन्तिम दिन कारोबारमा टेवा पाउनुले आगामी हप्ता शेयर बजार सामान्य वृद्धि हुने सम्भावना देखिन्छ । साथै आगामी बजेटले पूँजी बजारको विकास तथा विस्तार सम्बन्धमा के कस्ता कुराहरू सम्बोधन गरिन्छ त्यसले पनि बजारलाई प्रत्यक्ष रूपमा प्रभाव पार्नेछ । आव २०६८/६९को बजेटमा पूँजीबजारको के कस्तो सम्वोधन हुने भन्ने अन्योल छ । त्यसैले पनि नेप्सेमा उतारचढाव देखिएको हो ।
विगतमा कारोबार रकम, शेयर सङ्ख्या र शेयर कारोबारमा कमी देखिए पनि हाल क्रमश: सुधार हुँदै गएको छ । बजारमा देखिएको सुधार र आर्थिक वर्षको समाप्तिसँगै कम्पनीहरूले लगानीकर्तालाई वितरण गर्ने मुनाफादर सार्वजानिक गर्ने समय आएकाले बजार विस्तारै माथि जाने अनुमान गर्न सकिन्छ । त्यसैगरी, आगामी आव २०६८/६९ को बजेट समयमा नै आउने प्राय: निश्चित नै देखिएकाले बजारमा तरलता अभावजस्ता सङ्कट केही हदसम्म समाधान हुने देखिन्छ । यसले पनि शेयर बजारमा सुधार ल्याउन सक्छ ।
सरकारको वार्षिक योजनासँगै राजनीतिक अन्योल सामाधान हुँदै जाने अवस्था देखिन थालेकाले देशको समग्र अर्थव्यवस्थामा सकारात्मक प्रभाव पर्ने सम्भावना बढेको छ । यस्ता सम्भावनाले सार्थकता पाएमा पूँजी बजारले पुन: आफ्नो वृद्धिको बाटो समाप्ने कुरालाई नकार्न मिल्दैन ।
अहिले चुक्ता पूँजी २ अर्बभन्दा कम भएका र जगेडाको कोष तथा मुनाफादर उच्च भएका वाणिज्य बैङ्कहरूमा लगानी गरी छोटो समयमा नै राम्रो मुनाफा कमाउन सकिने अवस्था छ । चुक्ता पूँजी कम भए पनि वित्तीय अवस्था राम्रो भएका वाणिज्य बैङ्कहरूले लगानीकर्ताहरूलाई बोनस शेयर वितरण गरी चुक्ता पूँजी वृद्धि गर्दछन, भने जगेडा तथा मुनाफादर उच्च भएका कम्पनीहरूले नगद लाभांश वितरण गर्दछन् ।
यो हप्ता नेप्से परिसूचकमा ७ दशमलव ७२ अङ्कले सुधार भई ३ सय ४० दशमलव ९६ अङ्कमा कारोबार बन्द भएको छ । यस अवधिभर कुल रू. ३७ करोड ४१ लाख ७५ हजार १ सय ८४ बराबरको कारोबार भएको छ । उक्त समयमा ५ हजार ३ सय ९० कारोबारबाट १५ लाख ४ हजार २ सय १ बराबरका शेयर खरीद विक्री भएको छ ।
गत साताको बजार स्थिति
यो साता लक्ष्मी बैङ्कको शेयर सबैभन्दा बढी कमाउने सूचीमा देखिएको छ, भने सबैभन्दा धेरै गुमाउने सूचीमा आईसीएफसी कम्पनी रहेको छ । कारोबार सङ्ख्या र शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै कारोबार गरेर लक्ष्मी बैङ्क अग्र स्थानमा रहेको छ ।
यो साताको कारोबारमा वाणिज्य बैङ्क समूहतर्फ ११ दशमलव ९४ अङ्कले वृद्धि भई ३ सय दशमलव ४ मा बन्द भयो । यसैगरी विकास बैङ्क समूहतर्फ३ दशमलव ९६ अङ्कले कमी आई कारोबार २ सय ८४ दशमलव ८६ मा झरेको छ । जलविद्युत् समूहतर्फ ४६ दशमलव ९६ अङ्कले वृद्धि भएको छ भने वित्त कम्पनी र बीमा समूहतर्फ क्रमश: २ दशमलव ४७ र ९ दशमलव ६ अङ्कले कमी आएको छ । त्यसैगरी उत्पादन तथा प्रशोधन समूहतर्फ ८ दशमलव ४६ अङ्कले कमी आएको छ भने होटल, व्यापार र अन्य समूहतर्फ कुनै पनि परिवर्तन भएको छैन ।
कारोबार रकमका आधारमा क्षेत्रगत बाँडफाँट गर्दा वाणिज्य बैङ्क समूहले ८८ दशमलव ४१ प्रतिशत ओगटेको छ । साथै उत्पादन मूलक, बोण्ड र डिवेञ्चर समूहले १ दशमलव २६ प्रतिशत, सामूहिक लगानी कोषले शून्य दशमलव ४६ प्रतिशत, विकास बैङ्क समूहले ५ दशमलव २४ प्रतिशत, वित्त समूह तर्फ१ दशमलव ८३, अन्य समूहतर्फ शून्य दशमलव ४८ र जलविद्युत समूहले १ दशमलव ५६ प्रतिशत क्षेत्र ओगटेको छ ।
कुल १ सय १३ कम्पनीको कारोबारमा ४५ कम्पनीका शेयरमूल्य बढेको छ भने ३३ कम्पनीको शेयरमूल्यमा कमी आएको छ । यसैगरी ३५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
साप्ताहिक शेयर विश्लेषण ज्याम् टेक्नोलोजिज प्रालि (नेपाल शेयरमार्केट डटकम) द्वारा प्रस्तुत गरिएको हो ।
Admin 2011-07-08