काठमाडौं । सीमित कर्जा मागका कारण उच्च तरलताको समस्या भोगिरहेका वाणिज्य बैंकहरूले शेयर धितो कर्जा प्रवाह बढाएका छन् । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को माघ मसान्तसम्म उनीहरूले प्रवाह गरेको कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै ४० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । चालू आवको माघ मसान्तसम्ममा बैंकहरूले शेयर धितोमा कुल ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
समग्रमा बैंक तथा वित्तीय संस्थाहरूले चालू आवको ७ महीनामा कुल १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ बराबर शेयर धितो कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार अधिकांश वाणिज्य बैंकले यस्तो कर्जा विस्तार गरेका कारण समग्र कर्जा यो क्षेत्रमा बढेको हो । गत आवसम्म निकै थोरै यस्तो कर्जा प्रवाह गरेको नेपाल एसबिआई बैंकले यो क्षेत्रमा कर्जा ह्वात्तै विस्तार गरेको छ । यसको शेयर धितो कर्जाको विस्तार १ हजार ९५६ प्रतिशत छ । माछापुच्छ्रै बैंकको यस्तो कर्जा झन्डै १९३ प्रतिशतले वृद्धि भएको छ भने कुमारी बैंकले १०८ प्रतिशतभन्दा धेरैले शेयर धितो कर्जा विस्तार गरेको छ । रकमका हिसाबले सबैभन्दा बढी शेयर धितो कर्जा प्रवाह गर्ने बैंक नबिल हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा लिएको लचिलो नीति र शेयरबजार सकारात्मक भएकाले बैंकको यो कर्जा बढेको हो । अहिले व्यक्तिगत लगानीकर्ताले शेयर धितो राखेर १५ करोड रुपैयाँसम्म कर्जा लिन पाउँछन् भने संस्थागत लगानीकर्तालाई कुनै सीमा छैन । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिबाट संस्थागत लगानीकर्तालाई लगाइएको २० करोड रुपैयाँ कर्जाको सीमा हटाएको हो ।
‘पछिल्लो समय तरलता सहज छ, ब्याजदर घटेर एकल अंकमा आएको छ । यसले गर्दा सहज रूपमा शेयर धितो कर्जा बढेको हो,’ इन्भेस्टर्स फोरम नेपालका पूर्वअध्यक्ष छोटेलाल रौनियार भन्छन् । ‘समग्रमा बजार पनि बढेकै छ र शेयर धितो कर्जामा उच्च वृद्धि हुनु स्वाभाविक हो ।’
२० वाणिज्य बैंकमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकले यस्तो कर्जा दिएको छैन भने एन.आई.सी. एशिया र हिमालयन बैंकको शेयर धितो कर्जा घटेको छ । अन्य सबैले यस्तो कर्जा प्रवाह बढाएका छन् । नेपाल बैंकर्स संघका अनुसार चालू आवको फागुन मसान्तसम्मको निक्षेप तथा कर्जा प्रवाहको अवस्था हेर्दा बैंकहरूसँग अझै ६ खर्ब ४६ अर्ब रुपैयाँ बराबर थप कर्जा विस्तार गर्ने क्षमता छ । बैंकहरूले पछिल्ला महीनाहरूमा आयातका लागि तथा शेयर धितो राखेर दिइने कर्जा उच्च विस्तार गरेका छन् ।