गतवर्षदेखि नै सञ्चालनमा आउने भनेको अनलाइन कारोबार प्रणाली यो वर्षदेखि लागू हुने भएको छ । साउन १ गतेदेखि यो प्रणाली शुरू हुने भने पनि वेबसाइट पूर्णरूपमा स्थापित नभए पनि लगानीकर्ताले युजरनेम र पासवर्ड लिइरहेका छन् । देशभरका लगभग १० लाख लगानीकर्तामा २ हजार २ सय लगानीकर्ताले अनलाइन कारोबार प्रणालीमा प्रवेश गर्न युजरनेम र पासवर्ड लिइसकेका छन् । हालसम्म १२ जिल्लामा रिमोट वर्क स्टेशन सञ्चालनमा रहेका छन् ।
गतवर्षको तुलनामा शेयर बजार निकै ओरालो लागेको छ । यो वर्ष शेयर बजार २ वर्ष यताकै न्यून बिन्दुमा पुगेको थियो । निरन्तर घटिरहेको बजारमा लगानीकर्ता आत्तिएर राम्रा कम्पनीको शेयर न्यून मूल्यमा बेच्न थालेपछि शेयर बजार ओरालो लागेको थियो । साउन २७ गते नेप्से परिसूचक २ वर्षयताकै न्यून बिन्दु १ हजार १ सय ६३ दशमलव ९४ बिन्दुमा पुगेको थियो ।
यो वर्ष बैङ्कले निक्षेपमा अस्थिर व्याजदर राखेपछि त्यसको प्रत्यक्ष असर शेयर बजारमा परेको हो । त्यस्तै, पूँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर ७ दशमलव ५ प्रतिशत पुर्याएको छ । यसका साथै, सोही लाभकर आईपीओ तथा बोनसमा पनि लाग्ने भएपछि लगानीकर्ता आक्रोशित भएका थिए । यसले बजार परिसूचक ओरालो लाग्न मद्दत गरेको थियो । बजार घटेको समयमा बैङ्कले लगानीकर्तालाई मार्जिन कल लगाएपछि लगानीकर्ताले घाटामै भए पनि शेयर विक्री गर्न थालेपछि शेयरमा विक्री चाप बढेपछि परिसूचक झनै तल झरेको थियो ।
गतवर्षको तुलनामा लगानीकर्ताको सम्पत्ति ४ खर्ब ९१ अर्ब रुपैयाँले घटेको देखिएको छ । हाल शेयर बजारमा लगानीकर्ताको सम्पत्ति १४ खर्ब २ अर्ब रुपैयाँमा सीमित भएको छ । त्यस्तै, संस्थापक शेयर र परिवत्र्य अग्राधिकार शेयरबाहेकका साधारण शेयरलाई फ्लोटेशन भनिन्छ । गतवर्षको तुलनामा यो फ्लोट इण्डेक्स ३३ दशमलव २२ अङ्कले घटेर ८४ दशमलव ६८ बिन्दुमा पुगेको छ ।
फ्लोटेशन बजार पूँजीकरण रकम भने गतवर्षको तुलनामा १ खर्ब ६५ अर्ब रुपैयाँले घटेर ४ खर्ब ८१ अर्ब रुपैयाँमा सीमित भएको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापन सेन्सेटिभ इण्डेक्स गतवर्षको तुलनामा ९९ दशमलव ७५ अङ्कले घटेर २ सय ४० दशमलव ९९ अङ्क पुगेको छ ।
१ वर्षअघिको तुलनामा यो वर्ष सबै समूहको परिसूचक घटेको छ । शेयर बजारलाई बैङ्किङ गतिविधि तथा राजनीतिक गतिविधिले विभिन्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्ने गरेको छ । यही वर्ष विकास बैङ्क समूहबाट लघुवित्त कम्पनीलाई छुट्ट्याएर छुट्टै समूहमा विभाजन गरेको थियो । हाल यस समूहको परिसूचक १ हजार ८१ बिन्दुमा कारोबार भइरहेको छ । त्यस्तै, साउन १ गतेदेखि बीमा समूहलाई पनि जीवन बीमा र निर्जीवन बीमा समूहमा विभाजन गरिएको थियो ।
समूह विभाजन भइसकेपछिको पहिलो कारोबार दिनको तुलनामा भदौ ७ गते जीवन बीमा समूहको परिसूचक घटेर ५ हजार ५ सय ६६ र निर्जीवन बीमा ५ हजार ७ सय ६६ बिन्दुमा सीमित भएको छ । बैङ्किङ समूहको १ वर्षअघिको तुलनामा यो वर्ष परिसूचक २७ दशमलव ४९ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैङ्कको परिसूचक २८ दशमलव ४८ प्रतिशतले घटेर १ हजार ४ सय ३१ बिन्दुमा पगेको छ । वित्त कम्पनी, होटल र जलविद्युत् समूह २५ प्रतिशतले घटेको छ ।
तसर्थ, अनलाइन कारोबार सञ्चालनमा आएपछि नयाँ लगानीकर्ताले शेयरबजारबारे झनै बढी बुझ्नेछन् । इण्टरनेटको पहुँच हुने स्थानबाट लगानीकर्तालाई शेयरमा भित्रिन मद्दत हुने र समग्र बजार उकालो लाग्ने अपेक्षा गर्न सकिन्छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.