यता पछिल्लो समयमा सहकारीसित जोडिएर आएका परिघटनाक्रमले राजनीति पनि तातेको छ भने राजनीतिले पनि सडक ,सरकार र सदनसमेत तातेको देखिन्छ । कुनै अमूक दलका नेतालाई सहकारी अपचलन प्रकरणमा कानूनी प्रक्रिया अघि बढाउँदा सडक तातेको छ भने बचतकर्ताको रकम फिर्ता हुनुपर्छ र सहकारी अपचलनकर्तालाई कारबाही हुनुपर्छ भन्दै सहकारीका बचतकर्ता सडकमा आएको लगभग वर्ष दिन पुगेको छ । उता प्रतिपक्षमा रहेका केही दल भने सताधारीले राजनीतिको प्रतिशोध साँधेको आरोप पनि लगाइरहेका छन् ।
यसै मेसोमा कोही कोही भने धमिलो पानीमा माछा मार्न उद्यत देखिएका छन् । यसो भनौं, अहिले सहकारी प्रकरणले सडकदेखि सरकार र सदन तातेको छ । आम जनमानसमा भने सहकारी भनेको ठगीखाने भाँडोकै रूपमा चित्रित हुनथालेकाले सामान्य मजदूरीमा बाँचेकाहरूले बचाएर सहकारीमा राखेका बचतको भविष्य अन्योल हुँदा ती पनि सडकमै आन्दोलित हुन पुगेका छन् । त्यो तिनको बाध्यता हो, रहर होइन ।
चना चटपटे बेचेर, मकै पोलेर जीविका चलाउने, सामान्य मजदूरी गरेर केही बचत गर्ने, विपन्न र ससाना डालेनाङ्ले खुद्रा व्यवसायीले गरेका बचतको अपचलन गर्ने सहकारी चलाएर बसेका केही तथाकथित सहकारीका मास्टरमाइन्डहरूलाई यसबेला सरकारले कानूनी दायरामा ल्याउने प्रयास गरिरहेकाले बचतकर्तामा केही आशाको झिल्को पलाएको भए पनि कानूनी प्रक्रियामा लाग्ने समयका कारण आम बचतकर्तामा भने तत्काल बचत फिर्ता नै प्रमुख विषय भएको देखिन्छ । सरकारले भने यतातर्फ खासै ध्यान पुर्याएको देखिँदैन ।
अर्कातिर, सहकारी बचत अपचलनसित जोडिएर आएकाहरूलाई कानूनी कारबाहीका लागि प्रक्रिया अघि बढाउँदा राजनीतिकै आडमा दलीय कार्यकर्ताहरूको भीडले सडक तताउनु कतिसम्मको जायज हो ? त्यो त समयले नै देखाउला । तर, नबुझिएको एउटा रहस्य के हो भने आफ्ना नेतालाई सहकारी अपचलनको छानबिनका क्रममा कानूनी प्रक्रिया चलेकै अवस्थामा निष्पक्ष छानबिनका लागि सघाउनु त कता हो कता उल्टै आफ्ना कार्यकर्तालाई सडकमा उतारेर शान्ति सुरक्षामाथि नै खलबल पुर्याउने प्रयत्न हुनु पक्कै पनि शोभनीय होइन ।
सहकारी प्रणालीमाथिको विश्वासको पुनरागमनप्रति सरकार, सरोकारी निकाय, सहकारी सञ्चालनकर्ता र आम सहकारीका निक्षेपकर्ताको विश्वास जित्ने काममा सबै क्षेत्र लाग्नु चाहिँ श्रेयस्कर हो ।
पोखराजस्तो पर्यटकीय शहरमा यसबेला सडक मात्र तातेको छैन दुईथरी आन्दोलनकर्तालाई साम्य गर्ने काममा सरकारको ठूलै सुरक्षा बल प्रयोग भइरहनुले भर्खर मात्र बिउँतिन थालेको नेपालको पर्यटन व्यवसायमाथि नै प्रश्नहरू उठ्न थालेको पनि छ । त्यो राम्रो संकेत होइन । यसको बहुआयामिक प्रभावहरू पर्ने स्वाभाविक छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका पर्यटन व्यवसायी, उद्यमीहरूमा निराशा देखिनु स्वाभाविकै हो र सडकमै गुजारा गरेर रोजीरोटी गर्नेहरूका लागि त यस्ता आन्दोलन र दिनहुँजसोका सरकारी निषेधाज्ञाको स्थितिले रोजीरोटी नै खोसिने अवस्थासमेत आएको छ । भोलि ती आन्दोलन राजधानीतिर नसर्ला भन्ने छैन । यस्तो अवस्थामा सहकारी प्रणालीमाथिको विश्वासको पुनरागमनप्रति सरकार, सरोकारी निकायहरू, सहकारी सञ्चालनकर्ता र आम सहकारीका निक्षेपकर्ताको विश्वास जित्ने काममा सबै क्षेत्र लाग्नु चाहिँ श्रेयस्कर हो ।
अहिले सहकारी ठगीका प्रकरणहरू धमाधम बाहिर आउन थालेका छन् । तीसौं हजारको संख्यामा दर्ता रहेका सहकारीमध्ये ठगी प्रकरणमा चर्चा बटुल्ने सहकारीहरूको संख्या भने केही मात्र हो । खोजिपस्दै जाने हो भने समस्यामा धेरै सहकारी नहोलान् भन्न सकिँदैन । किनभने तिनका नियामक निकाय पनि झारा टार्ने र देखाउने दाँतजस्तै मात्र भएका छन् । बलियो नियमन हुँदो त सहकारी प्रणालीले अहिले ठगी प्रणालीको आरोप खेप्नुपर्ने थिएन ।
यो दुर्भाग्य नै हो कि साना बचतकर्ताको अर्बाैंको बचत रकम हिनामिना गरी तिनलाई बिचल्ली पार्ने, पारेका केही सहकारीका मास्टरमाइन्डहरूको संरक्षण शक्तिकेन्द्रहरूबाटै भएको देखिनुले नेपालमा सहकारी प्रणालीमाथि नै गम्भीर प्रश्न उठेको छ । अब यो प्रणालीको व्यापक पुन:संरचना नगरी आम बचतकर्तामा सहकारीमाथि विश्वासको पुनरागमन हुने देखिँदैन ।
बैंक वित्तीय संस्थाकै हाराहारी कारोबार भएका ओरिएन्टल, सिभिल होम्स, गौतमश्री, सूर्यदर्शन, सानो पाइला, बाराही, शिवशिखर, मितेरी, सुमेरु, लालीगुँरास, कान्तिपुर सेभिंग्स, गोर्खा, ईमेजलगायत कतिपय सहकारी संस्था यतिखेर समस्याग्रस्त मात्र होइनन् तिनका सञ्चालक, पदाधिकारीहरू पनि अर्बाैंं रकम विचलनको आरोपमा अनुसन्धानमा तानिएका छन् ।
कतिपय सहकारी बन्द भई लाखौं सदस्यको बचतको भविष्य अन्योल भएका उदाहरणले सहकारी संस्थाकै भविष्यमाथि गम्भीर प्रश्न उठिरहेको पनि धेरै भयो । मूल कुरा सहकारीहरूले सहकारीका आधारभूत सिद्धान्तबाट विचलित भएर वित्तीय संस्थाकै सिको गर्दै जाने तर कुनै बलियो नियमनभित्र नरहेकै कारण अहिले ती भद्रगोलका गोलचक्करमा परेका हुन् । यही गोलचक्कर चिर्न अहिले एकथरी विचार सहकारीलाई केन्द्रीय बैंकको अनुगमनको दायरामा ल्याइयो भने यो क्षेत्रको समस्या समाधान हुन्छ, कायापलटै हुन्छ भन्नेमा पनि छ ।
जबसम्म राजनीतिले सहकारी (सहकारी भनेको वित्तीय प्रणालीकै एक रूप हो) लाई गाँजिरहन्छ र त्यसैका आडमा दलहरू र दलीय राजनीति घुमिरहन्छ सहकारीलाई व्यवस्थित गर्ने काममा पनि कुनै न कुनै भाँजो आइ नै रहन्छ ।
यो विचारले यता पछिल्ला दिनमा निकै चर्चा मात्र पाएको छैन रू. १ अर्बभन्दा माथिको कारोबार गर्ने सहकारीलाई केन्द्रीय बैंकले हेर्ने भन्ने सहमतिबारे सञ्चारजगत्ले समाचार पनि बाहिर ल्याएको छ । तर, सहकारीका लागि पटके नियन्त्रण होइन, बलियो र दिगो संयन्त्रकै खाँचो छ । त्यसका लागि जबसम्म सहकारीका हाल मौजुदा अर्ध राजनीतिक संरचनाहरू भंग गरिँदैन र तिनलाई बेग्लै र स्वतन्त्र निकायमार्फत नियमन गरिँदैन त्यो ‘हात्ती आयो हात्ती आयो फुस्स’ भनेझैं मात्र हुनेछ । सहकारीलाई राजनीतिले नै तताउने, त्यसैले सेक्ने र त्यसैले उचाल्ने र पछार्ने गर्नेजस्तो मात्र आम नागरिकले अनुभूत गर्ने हो ।
ठगिनेहरू त सामान्य आम नागरिक मात्र हुन्, जसलाई ब्याजको प्रलोभनले भुलाएको हुन्छ र तिनलाई अरू कुराको खासै सरोकार हुँदैन पनि । त्यहाँ त सरकार देख्छन्, उनीहरू । किनभने सहकारी भनेकै सरकारी अड्डामा दर्ता रहेका संस्था भनेर त्यसका सञ्चालकहरू व्यापार गर्दैआएका छन्, गर्दै छन् ।
सहकारीलाई सहकारीको मूलभूत मूल्य, मान्यता र सिद्धान्तभन्दा बाहिर गएर नाफा कमाउन पूँजीवादी बैंक जस्तो बनाइयो । सहकारी कुनै न कुनै तरीकाले जनतालाई भ्रमित गर्ने र शोषण गर्ने माध्यम बनाएपछि विकृति देखापर्नु नै थियो । विकृति अपरिहार्य थियो, त्यो देखापर्यो । बचत तथा ऋण सहकारीले बैंकको जस्तो कार्यालय सजावट र तडकभडकसहितका अनुत्पादक र अनावश्यक क्षेत्रमा खर्च गर्न होडबाजी नै देखियो ।
सदस्यको बचत र लगानी गर्ने विषयमा सामान्य मान्यताको पालना पनि भएन । राष्ट्र बैंकको मौद्रिक परिचालनको सामान्य सिद्धान्त पनि पालना नभएको गुनासो रह्यो । केही ऋणी सदस्यहरू सहकारीको बदनाम गरी बन्द गराउने र ऋण तिर्न नपर्ने गलत सोचमा लागेका पनि पाइयो । यसरी सहकारी संस्थाहरू समस्या परे तर तिनले समग्र सहकारीप्रति नै नकारात्मक भाव पैदा गराए । अहिले सहकारी भनेको ठगी खाने माध्यम हो भन्ने सोच पलाउन थालेको छ जसले सहकारीको भविष्यप्रति नै आशंका उब्जाएको छ ।
अन्त्यमा जबसम्म राजनीतिले सहकारी (सहकारी भनेको वित्तीय प्रणालीकै एक रूप हो) लाई गाँजिरहन्छ र त्यसैका आडमा दलहरू र दलीय राजनीति घुमिरहन्छ सहकारीलाई व्यवस्थित गर्ने काममा पनि कुनै न कुनै भाँजो आइ नै रहन्छ । सहकारीले राजनीति तताउने काम पनि शुभ होइन । राजनीतिले तातेको सहकारीलाई सडक आन्दोलनले सेकाउने काम पनि राम्रो होइन । चेतनाचाहिँ कहिले आउने ?
प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।