केही दिन अगाडि विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले भनेका थिए, यदि टेस्लाको शेयर भाउ यही तरीकाले बढ्दै जाने हो भने बिल गेट्स दिवालिया हुनेछन् । यो भनाइ सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । बिल गेट्स जस्ता विश्वकै सबैभन्दा धनी मानिस कसरी दिवालिया हुन सक्छन् र ? वास्तवमा शर्टसेलिङ भन्ने शेयरबजारको एउटा त्यस्तो कारोबार हुन्छ जसमा एउटा व्यक्ति होइन पूरै देश नै आर्थिक रूपमा कोमामा जान सक्छ । सन् १९२९ र १९०८ को आर्थिक मन्दीको कारणले अमेरिकाको आर्थिक अवस्था डामाडोल हुनुमा यो लघु विक्रीको ज्यादै ठूलो हात रहेको मानिन्छ ।
शर्टसेलिङमा आफूसँग नभएको शेयर बेचिन्छ र त्यसको भर्पाई गर्न पछि शेयर किनिन्छ । सामान्यतया यो चक्र एकै दिनमा पूरा गर्नुपर्ने भएकाले यसलाई इन्ट्राडे सेलिङका रूपमा पनि बुझ्न सकिन्छ । आज कुनै कम्पनीको शेयर आफूसँग नभए पनि महँगोमा बेच्ने, मानौं २०० मा आज नै सोही कम्पनीको शेयर १८० मा आयो भने किन्ने । एकै दिनमा २० रुपैयाँ नाफा भयो । यस्तो शर्टसेलिङ छोटो समयका लागि गर्न सकिन्छ ।
शर्टसेलिङमा अमुक कम्पनीको शेयर घट्दै छ भन्ने आशामा कारोबार गरिन्छ तर शेयर नघटेर बढ्न थाल्यो भने घाटा खानुपर्ने हुन्छ । यसमा नाफाको सीमितता हुन्छ घाटा जति पनि हुन सक्छ । सम्भवत: नेपालमा यही कारणले शर्ट सेलिङ र इन्ट्राडे कारोबारको सुविधा अहिलेसम्म अभ्यासमा छैन । भारत अमेरिका आदि देशमा यो सुविधा छ । तर, जतिबेला कोभिड–१९ को विश्वको अर्थव्यवस्था डगमगाउन थाल्यो विश्वका सबैभन्दा ठूला अर्थतन्त्रले शर्टसेलिङको विकल्पलाई बन्द गर्नु परेको थियो । शर्टसेलिङले कुनै पनि देशको अर्थतन्त्रलाई पूर्णरूपमा तहसनहस पार्न सक्छ ।
पहिला हाम्रा पाठकहरूले शर्टसेलिङ के हो त्यसको बारेमा बुझ्न जरुरी छ । कुनै लगानीकर्ताले कुनै ब्रोकर कम्पनीसँग कुनै कम्पनीको शेयर रू. २०० का दरले २ लाख कित्ता शेयर शर्टसेलिङ गर्यो र १ प्रतिशत ब्याजदर तोकेर शेयर उधारोमा लियो तर त्यो शेयरको मूल्य घटेर १०० मा पुग्यो । लगानीकर्ताले २ करोड कमाउँछ र १ प्रतिशत ब्याज तिरेर बाँकी सबै नाफा हुन्छ । शेयर किन्दा भन्दा बढ्न थाल्यो भने घाटा असीमित हुन सक्छ । नभएको शेयर ब्याजमा किनिएको हुन्छ पछि घट्ला भनेर तर दुर्भाग्यवश शेयर बढ्न थाल्यो भने घाटाको कुनै अनुमान नै हुन सक्दैन । ओर्लँदो बजारमा शर्टसेलरले देशको अर्थतन्त्र नै गडबडाइदिन सक्छ भने बजार माथि जाने अवस्थामा ऊ आफै दिवालिया हुन सक्छ । ट्रम्पले जितेपछि टेस्लाको मूल्य यस्तो बढ्यो कि शर्टसेलिङ गरेको बिल गेट्सको संयन्त्र दिवालिया हुन सक्छ भनेर एलोन मस्कले भनेका हुन् ।
शर्टसेलिङ हाम्रो देशको अभ्यासमा नभए पनि शेयरको आधारभूत रूपमा बुझ्नुपर्ने केही कुरा जस्ता क्यान्डिस्टिक विश्लेषण, ट्रेन्ड एनालाइसिस जस्तै शर्टसेलिङ पनि बजारको महत्त्वपूर्ण जानकारीयोग्य पक्ष हो । यसको आधारभूत पक्ष बुझ्न जरुरी छ । यसमा आफूसँग नभएको शेयर ब्याजमा उधारो लिएर बेचिन्छ । यसका तीनओटा प्रमुख तरीका र उदाहरण यस लेखमा प्रस्तुत गरिएको छ ।
१९९१ तिर नामुद इन्भेस्टर जर्जसारोसले बेलायत करेन्सी पाउन्ड कमजोर हुँदै छ भन्ने मेसो पाए । उनले अन्धाधुन्ध शर्टसेलिङ गर्न थाले । त्यसको कारणले १९९२ मा बैंक अफ इङ्ल्यान्ड क्रयास नै भयो । कम्पनीहरूको शेयरमा शर्टसेलिङ भयो । बैंक कसरी डुब्यो भन्नु होला । घाटा जसलाई भए पनि मुद्रा बैंकबाट नै झिकिन्छ । यति मात्र होइन, १९२९ र २००८ को आर्थिक मन्दीमा शर्टसेलिङलाई जिम्मेवार मानिन्छ ।
शर्टसेलिङमा शेयर ब्रोकरसँग उधारोमा १ प्रतिशत ब्याजमा किन्ने हो र बेच्ने हो तर इन्ट्राडे सेलिङमा उधारो लिइँदैन । एक दिनमै हिसाब राफसाफ गरिन्छ । यी दुवै करोबारमा अनुभव, अनुसन्धान र जोखिम वहन अति मिहिन तरीकाले गर्नुपर्छ । शर्टसेलिङ गर्दा शेयरको खेलाडीले कुनै अमुक कम्पनीको वार्षिक वा अर्ध वार्षिक प्रतिवेदन खराब आउँदै छ भन्ने थाहा पाएमा उसले त्यो कम्पनी लिन मिल्ने जति शेयर ब्रोकरबाट उधारोमा लिन्छ र बजारमा महँगो मूल्यमा बेची दिन्छ । अब केही समयपछि जब प्रतिवेदन खराब आउँछ मूल्य घट्दै जान्छ अब घटेको मूल्यमा शेयर किनेर ब्रोकर ब्याजसहित फिर्ता गर्छ र बचेको पैसा खान्छ । वास्तवमा शर्टसेलिङ यत्ति हो । यसमा जोखिम अति बढी छ, अनुमान अनुसार मूल्य घटेन र बढ्यो भने खरीदकर्ता दिवालिया हुन पनि सक्छ ।
जतिसुकै सटीक मानिए तापनि अनुमान १०० प्रतिशत सत्य हुँदैन । अनुमानित कम्पनीको प्रतिवेदन नराम्रो आउँछ नै भन्न पनि सकिँदैन र नराम्रो आए शेयर मूल्य घट्छ नै भन्न पनि सकिँदैन । जस्तै अमेरिकामा चुनावअघि ट्रम्पले हार्छन् नै भनेर टेस्ला कम्पनीको शर्टसेलिङ भयो तर ट्रम्पले जिते । टेस्ला कम्पनीको भाउ बढ्यो शर्टसेलिङ गर्नेहरू दिवालिया हुने अवस्थामा पुगे ।
शर्टसेलिङमा शेयर ब्रोकरसँग उधारोमा १ प्रतिशत ब्याजमा किन्ने हो र बेच्ने हो तर इन्ट्रा डे सेलिङमा उधारो लिइँदैन । एक दिनमै हिसाब राफसाफ गरिन्छ ।
शर्टसेलिङ कसरी हुन्छ भन्ने सन्दर्भमा ३ ऐतिहासिक घटना बुझ्न जरुरी छ जसले यसका तरीकाको बारेमा सिकाउँछ । शर्टसेलिङको पहिलो तरीका हो : म्यानुपुलेशन । १९८२ मा बम्बे स्टक एक्सचेन्जमा मानुमानिक नामक शेयर कारोबारीको व्यापक त्रास थियो । उनको समूहले जुन कम्पनीको सेयर शर्टसेलिङ गर्न चाहे त्यसो गर्न सक्थे । यतिसम्म भयो कि मानु मानिकको अनुमतिविना कम्पनीहरूले बोर्डमिटिङ नै गर्न नसक्ने अवस्था आयो । एकपटक मानु मानिकको समूहले धीरुभाइ अम्बानीको रिलायन्स कम्पनीको शेयर शर्टसेलिङ गर्ने निर्णय गरे । पहिलो दिन त त्यो समूह सफल पनि भयो, रिलायन्सको शेयर रू. १३१ बाट १२५ मा झर्यो तर त्यो दिनमा नै धीरुभाइ अम्बानी यो कुराको मेसो पाए ।
त्यसपछि उनले आफ्नो शेयरको मूल्य घट्न नदिन सम्पूर्ण शेयर आफ्ना मानिशहरूबाट किनाउन थाले । रिलायन्सको शेयर माग कम हुनै दिएनन् । शर्टसेलिङ गर्ने मानौं मानिकको समूहले करोडौं घाटा खाँदा पनि तोकेको समयमा ब्रोकरलाई शेयर तिर्न सकेन । त्यसपछि त्यो समूह नै तहसनहस भयो । घाटा अम्बानीलाई पनि लाग्यो तर शर्टसेलरको दादागिरी दशकौंका लागि मत्थर भयो । यसलाई म्यानुपुलेशन मेथड भनिन्छ ।
दोस्रो तरीका हो : क्यालकुलेशन । यसको उदाहरण निकोला कम्पनीबाट लिन सकिन्छ । सन् २०१४मा ट्रेभोर मिल्टनले एउटा निकोला भन्ने कम्पनी बनाएर घोषणा गरे, हामीले हाइड्रोजनबाट चल्ने ट्रकको इन्जिन बनाउँदै छांै र सन् २०१६ सम्म ५००० यस्ता ट्रक बजारमा बेचिनेछ तर २०१६ सम्म त्यो कम्पनीले स्टिलको एक ट्रक जस्तो फ्रेमबाहेक केही बनाउन सकेन । यस्तैमा सन् २०१८ मा निकोलाले एउटा भिडियो अपलोड गर्यो जसमा एक हाइड्रोजन ट्रक सडकमा दौडिएको देखाइएको थियो । यो भिडियोले गर्दा निकोलाको भाग्य चम्क्यो नयाँ लगानीकर्ता आए ठूलो जमीन किन्यो, शेयरबजारमा यसको मूल्यले आकाश छुन थाल्यो । जब कि कम्पनीले एउटा भिडियो अपलोड गर्नेबाहेक केही काम गरेको थिएन ।
ठीक यसैबेला हिडनबर्गले एउटा प्रतिवेदन प्रकाशित गर्यो जसका अनुसार निकोलाले कुनै हाइड्रोजन इन्जिन बनाएको छैन । भिडियोमा देखिएको ट्रकभित्र इन्जिन नै छैन । एउटा इन्जिनरहित ट्रकलाई अर्को ट्रकले तानेर उकालोमा लगियो र खाली ट्रकलाई ओरालोमा गुडाएर भिडियो बनाइयो । यो वास्तविकता जनताको सामु ल्याइयो । यही बेलामा शर्टसेलिङ गरेर हिडेनबर्ग अर्बौं कमायो । यो तरीका क्याकुलेशन तरीका भनिन्छ । पछि २०२२ मा निकोलाको मालिकलाई २० वर्ष जेलसजाय भयो । हिडनबर्गले क्याल्कुलेशन तरीका प्रयोग
गरेर गौतम अडानीको कम्पनीको पनि शर्टसेलिङ गरेको छ ।
तेस्रो तरीका हो : अब्जर्भेशन । यहाँ मेनुपुलेशन र क्याल्कुलेशन नभएर अनुमानको आधारमा शर्टसेलिङ गरिन्छ । यो तरीका टेस्ला कम्पनीको सन्दर्भमा बिल गेट्सले गरेको कारोबारलाई उदाहरणका रूपमा लिइन्छ । यसमा पनि अनुमानको भरमा शर्टसेलिङ गर्दा गेट्स समूहले धोखा खाएको कुरा माथि नै उल्लेख गरियो । यसरी शर्टसेलिङ शेयर घटे पनि कमाई गर्ने तरीका हो तर यसका चुनौती पनि कम छैनन् । शर्टसेलिङ सामान्य शेयर कारोबार भन्दा जटिल छ त्यसैले राम्ररी नबुझी यो तरीका अपनाउन हुँदैन ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।