काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले असार १३ गते १२औं र १३औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ २२ गतेको सञ्चालक समिति बैठकले धुम्रबराह भेन्यु धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निणर्य गरेको हो ।
सभाले अघिल्लो आर्थिक वर्ष ०७७/७८ र गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै शत प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूणर् कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निणर्य पनि सभाले गर्नेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४५ करोडको आधारमा शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । शत प्रतिशत हकप्रदपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ९० करोड पुग्नेछ । हकप्रद शेयर जारी गर्दा कुनै शेयरधनीले आफूले लिन पाउन हकप्रद शेयर लिने इच्छा नगरेमा हक हस्तान्तरण गर्न र सोबापतको रकम दाखिला गरी अर्को शेयरधनीले लिन पाउने व्यवस्था पनि कम्पनीले गर्नेछ ।
संयुक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३१ गते एक दिन बुक क्लोज गर्दै छ । यसको आधारमा जेठ ३० गतेसम्म कायम शेयरधनी मात्र कम्पनीको साधारण सभामा भाग लिन योग्य हुनेछन् । हकप्रद शेयर प्रयोजनका लागि भने कम्पनीले पछि बुक क्लोजको मिति तय गर्नेछ ।