काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षको तुलनामा कम्पनीको खुद नाफा ५० दशमलव ८८ प्रतिशत कम भएको छ ।
गत वर्ष ४ करोड ७३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २ करोड ३२ लाख रुपैयाँभन्दा बढी मात्र यो नाफा गरेको हो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी ८२ प्रतिशतभन्दा कम भएकाले खुद नाफामा असर परेको हो ।
गत वर्ष १८ करोड २३ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ३ करोड २० लाख रुपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो ।
कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको ९ दशमलव ९४ मेगावाट क्षमताको काबेली बी–१ क्यासकेड आयोजनामा बाढीको कारण क्षति भएकाले हाल विद्युत् उत्पादन कार्य बन्द छ, जसको असर विद्युत विक्री आम्दानीमा परेको हो ।
कुल खर्च भने सामान्य वृद्धि भएको छ । गत वर्ष १२ करोड २२ लाख रुपैयाँभन्दा बढी कुल खर्च भएको कम्पनीले यस वर्ष १२ करोड २४ लाख रुपैयाँभन्दा बढी कुल खर्च गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रद शेयर कम्पनीले विक्री गर्दैछ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ कायम हुनेछ ।
हकप्रद शेयर निष्कासन प्रयोजननका लागि कम्पनीले माघ १५ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा माघ १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको यो हकप्रद शेयर खरीद गर्न सक्नेछन् । चैत ७ गतेसम्म कम्पनीले हकप्रद शेयर विक्री खुला राख्ने बताएको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले लिएको कर्जा सापटी रकम २३ करोड १० लाख रुपैयाँभन्दा बढी छ । वार्षिक २ रुपैयाँ ४९ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ४३ पैसा छ ।