काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका ऋणीलाई ऋण तिर्न ३५ दिने सूचना जारी गरेको छ ।
समस्याग्रस्त घोषित सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभलाई बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमवार सो सूचना जारी गरेको हो ।
तोकिएको समयभित्र आफूले उपभोग गरेको ऋण कर्जाको दायित्व राफसाफ नगरेको खण्डमा प्रदेश सहकारी ऐन, २०७६ को दफा ९२ को उपदफा (१) खण्ड (क), (ख) र (ग) बमोजिम कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालो सूचीमा राखी कारबाही हुने समेत जानकारी समितिले दिएको छ ।
‘बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरूले सो संस्थाबाट उपभोग गर्नुभएको ऋण कर्जा रकमको सावाँ ब्याज यो सूचना प्रकाशित गरिएको मितिले ३५ दिनभित्र आफूले उपभोग गरेको ऋण कर्जाको सावाँ तथा ब्याज तपसिलमा उल्लेखित बैंक खातामा जम्मा गरि सोको भौचर यस समितिको कार्यालयमा पेस गरि कर्जा राफसाफ गर्नु हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।
उक्त सहकारीविरुद्ध सहकारी विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रादेशिक तहहरूमा पटक पटक उजुरी परेको थियो । सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो । बचतकर्ताको उजुरीमा सीआईबीले सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ तथा सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई हिरासतमा राखेको थियो । उनीहरूविरुद्ध १ हजार ४९९ जना बचतकर्ताको ५ अर्ब ६७ करोड ९ लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको उजुरी दर्ता भएको छ ।