काठमाडौं । ग्राहकको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई थप स्थिर र सुरक्षित बनाउन सिद्धार्थ बैंक र मनिपाल टेक्नोलोजिज लिमिटेडबीच सम्झौता भएको छ ।
यस पहलले अवैध सम्पत्ति शुद्धीकरण न्यूनीकरण (एन्टी मनी लाउन्डरिङ–एएमएल) प्रविधिको सुदृढीकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकको छ । यस सम्झौताले बैंकलाई कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल)को प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रण तथा ग्राहक पहिचान पद्धति अवलम्बन गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।
बैंकले मनिपाल टेक्नोलोजिजसँगको सहकार्यमा एएमएल प्रणालीलाई अन्तरराष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको बताइएको छ । साथै यस पहलले बैंकिङ उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।