काठमाडौं । माघमा सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डको नोक्सानी बढेको छ । पुस मसान्तसम्म ९० लाख ६८ हजार रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजना माघ मसान्तसम्म भने ३ करोड ७ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको हो ।
जम्मा आम्दानी १ करोड ५१ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको योजनाको जम्मा खर्च भने १ करोड ५५ लाख रुपैयाँभन्दा बढी छ । माघमा योजनाको प्राप्त भइनसकेको आम्दानी रकम बढेसँगै नोक्सानी बढेको हो ।
पुस मसान्तसम्म ५ करोड रुपैयाँभन्दा बढी रहेको प्राप्त भइनसकेको आम्दानी माघ मसान्तसम्म ७ करोड ५१ लाख रुपैयाँभन्दा बढी छ । योजनाको प्रतिइकाई खुद मूल्य माघ मसान्तसम्म ९ रुपैयाँ ८३ पैसा छ । यो मूल्य पुस मसान्तसम्म ९ रुपैयाँ ९७ पैसा थियो । बन्दमुखी प्रकृतिको यस योजनाले १५ करोड इकाई जारी गरेको थियो ।
धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले माघ मसान्तसम्म बैंक मुद्दति निक्षेपसमेत धितोपत्रमा गरेको लगानीको परल मूल्य १ अर्ब ४८ करोड ८५ लाख ३० हजार रुपैयाँ छ । माघ मसान्तसम्म योजनाको लगानीको बजार मूल्य भने १ अर्ब २८ करोड ९० लाख ६१ हजार रुपैयाँभन्दा बढी छ । योजनाको लगानीको परल मूल्यभन्दा बजार मूल्य कम कायम भएको हो ।