काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को रकम खर्चमा कडाइ गरेको छ । केन्द्रीय बैंकले सोमवार संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन–२०८१ जारी गर्दै सरकारी, सामुदायिक तथा अन्य गैरनाफामूलक संस्थाको लागि मात्र सीएसआरको रकम खर्च गर्नुपर्ने व्यवस्था गरेको हो ।
मार्गदर्शनमा सीएसआरको रकम संस्थाको ब्रान्ड प्रवर्द्धन तथा बजार विस्तार गर्ने उद्देश्यले गरिएका बजारीकरण अभियान, विभिन्न कार्यक्रमको प्रायोजन, राजनीतिक दलका कार्यक्रमलाई गरिएको सहयोग, नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रम, र्याली तथा विज्ञापन जस्ता कार्यमा खर्च गर्न नपाइने प्रावधान राखिएको छ । यस्तै संस्थापक शेयरधनी, सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापन तहका पदाधिकारी सम्बद्ध संस्थामा गरिएका र व्यापार विस्तारको शर्त राखी गरिएका खर्च पनि सीएसआरमा देखाउन नपाइने व्यवस्था गरेको छ ।
बैंक, वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यमा क्रियाशील हुन आफ्नो हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम छुट्ट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरी जम्मा गर्नुपर्ने प्रावधान छ । कोषको रकम खर्चलाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय बैंकले मागदर्शन नै जारी गरेको हो । मार्गदर्शनमा बैंकको सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी छुट्टै कार्यविधि बनाएर मात्रै कोषको रकम खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै बैंकहरूले आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएपछि ६० प्रतिशत सोही आर्थिक वर्षमा खर्च गर्नुपर्ने प्रावधान मार्गदर्शनमा छ । यस्तै कुनै एउटा कार्यक्रममा त्यस आर्थिक वर्षको कुल खर्चयोग्य संस्थागत सामाजिक उत्तरदायित्व रकमको ५ प्रतिशतभन्दा बढी खर्च गर्न पनि रोक लगाइएको छ । मार्गदर्शनमा सीएसआरअन्तर्गत खर्च गर्ने क्षेत्र समेत तोकेको छ । शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य जस्ता क्षेत्रमा मात्रै खर्च गर्न पाइने प्रावधान मागदर्शनमा छ ।