सानुकाजी श्रेष्ठ
अध्यक्ष, सिन्धुली उद्योग वाणिज्य संघ
सिन्धुलीको विकास लागि पर्यटन, कृषि, वन, जडीबुटीको विकासमा ध्यान दिनु जरुरी छ । यसका लागि सडक, बाटो, सुरक्षा, लगानी, दक्ष प्राविधिक, विद्युत्, खानेपानी, सिँचाइ तथा बजारीकरणजस्ता क्षेत्रमा सुधार ल्याउनुपर्छ । अहिले सिन्धुली जिल्लामा १ हजारभन्दा बढीको सङ्ख्यामा उद्योगी व्यापारी रहेका छन् । जिल्लामा सानो सङ्ख्यामा मात्र होटल व्यवसाय सञ्चालनमा छन् । जिल्लामा सानाठूला निजी तथा सार्वजनिक यातायातका साधनसमेत प्रशस्त मात्रमा सञ्चालन भएका छन् ।
यसले मात्र जिल्लामा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्न सकेको छैन । सिन्धुलीगढी, हरिहरपुरगढी, सिद्धबाबा, कालिकमलामाईजस्ता ऐतिहासिक एवम् धार्मिक स्थलको जगेर्ना, पुनर्निर्माण, संरक्षण र प्रचारप्रसार गर्नु जरुरी छ । कृषिका हिसाबमा पनि सिन्धुलीको पहिचान राख्न जुनार, अदुवाजस्ता नगदेबालीको विस्तार तथा अन्तरराष्ट्रिय बजारीकरणका लागि पहल गर्नुपर्छ । साथै, व्यावसायिक खेतीलाई विस्तार गर्दै लैजान कृषि प्राविधिक र सिँचाइ सुविधाको व्यवस्थापनमा राज्य तथा निजीक्षेत्रले ध्यान दिनुपर्छ ।
यहाँको काठ तथा जडीबुटीलाई व्यवस्थित रूपमा संरक्षण तथा सङ्कलन गर्ने हो भने त्यसबाट वर्षेनि ठूलो मात्रामा रकम सङ्कलन हुन सक्छ । यसै जिल्ला हुँदै निर्माण गरिएका बीपी राजमार्ग तथा मध्यपहाडी राजमार्गको प्रयोगबाट भारत र चीनसँग हुने आर्थिक गतिविधिको ट्राञ्जिट प्वाइण्ट बन्ने सम्भावना छ ।
यस क्षेत्रलाई विकास र परिवर्तनसँगै विशेष आर्थिक क्षेत्र (सेज)का रूपमा अघि बढाउने तयारी छौं । हामीले धनुषामा रहेका एकीकृत सेवा केन्द्रहरू सिन्धुलीमा सार्नुपर्ने माग गरेका छौं । जिल्लालाई युवा स्वरोजगारको सम्भावना बनाउन, कृषकहरूलाई समयमै मल, बीउबिजन उपलब्ध गराउन, जुनारको पेटेण्ट राइट, जिल्ला अस्पताललाई ५० शय्याको बनाउन हामीले प्रयास गरिरहेका छौं । त्यस्तै व्यवस्थित बसपार्क निर्माण, जिल्लामै ट्रेड स्कूलको स्थापना, नदीपहिरो नियन्त्रण, पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्याउने गरी सिद्धबाबामा केबलकार सञ्चालनका लागि अन्तिम तयारीमा लागेका छौं ।
जिल्लामा सरकारी तथा निजीक्षेत्रका गरी करीब एक दर्जन बैङ्क तथा वित्तीय संस्था छन् । यहाँ विद्युत् उत्पादन र ठूला खानी उत्खनन गर्न सकिने अवस्था भए पनि लगानी गर्नेहरूको कमी छ । यस्ता आयोजना सञ्चालन गर्दा पीपीपी मोडलमा सञ्चालन गर्नुपर्छ । सुनकोशी डाइभर्शन तथा मरिण, कमला, चँदाहा विद्युत् उत्पादनका लागि बढी सम्भावित क्षेत्र हुन् भने, यसै जिल्लामा फलाम, तामा, सुन तथा ढुङ्गा खानीसमेत भएकाले त्यसको उत्खननमा लगानी गर्नुपर्छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.