काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आगामी कात्तिक १२ गते १८ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको हो ।
सभाले ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्ष (आव)को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।
त्यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज हुन तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखेमा सोसम्बन्धी सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि बैंकले असोज २९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा असोज २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।