सन् २००८ को वालस्ट्रीट सङ्कटपछि छाएको आर्थिक मन्दी भोगिरहेका अमेरिकीहरूले नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनताका समाजवाद र पूँजीवादजस्ता दुई शब्दावलीको शब्दकोषमा सबैभन्दा धेरै खोजी गरेको पत्ता लागेको छ ।
अमेरिकी अंग्र्रेजीको आधिकारिक शब्दकोष मानिने मेरियाम–वेबष्टर शब्दकोषको अनलाइन संस्करणमा अमेरिकीहरूले ‘समाजवाद’ शब्दको अर्थ सबैभन्दा धेरै खोजेका थिए । त्यसपछि उनीहरूले ‘पूँजीवाद’ शब्दको अर्थ पनि निकै खोजी गरेको बताइएको छ । विशेषगरी राष्ट्रपति बाराक ओबामाको स्वास्थ्यसेवासम्बन्धी विधेयक, सत्तारूढ डेमोक्य्राटिक पार्टी र प्रतिपक्षी रिपब्लिकन पार्टीका सम्मेलन एवम् ओबामा र उनलाई चुनौती दिएका मिट रोम्नीबीचको प्रत्यक्ष टेलिभिजन बहसताका यी शब्दका अर्थको खोजी उचाइमा पुगेको मेरियाम–वेबष्टर शब्दकोषले जानकारी दिएको छ ।
त्यसैगरी नोभेम्बर ६ तारिखमा भएको निर्वाचनताका समाजवाद अनलाइन शब्दकोषहरूमा सर्वाधिक खोजी गरिएको शब्द बन्न पुगेको वेबष्टर शब्दकोषका सम्पादक पिटर सोकोलोवस्कीले जानकारी दिए ।
वर्ष ८, अंक ८४, बुधवार २७ मङ्सिर, २०६९