काठमाडौं । समावेशी बीमासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (आईसीआईआई २०२४) आज (मंगलवार)बाट काठमाडौंमा शुरु भएको छ ।
नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सो सम्मेलनको २०औं संस्करण आयोजना गरिएको हो ।
कात्तिक ९ गते (आगामी शुक्रवार)सम्म हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरू तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी वीमालाई परिस्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुनेछ ।
यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरू हटाउनेसम्बन्धी रणनीति लगायतका विषयमा सहभागीबीच छलफल केन्द्रित हुनेछ ।
सम्मेलनका विभिन्न सत्रहरूमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरू, बीमाको अन्तर र वीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम् अवलम्बन जस्ता मुख्य विषयहरूमा विभिन्न कार्यपत्र प्रस्तुतिका साथै कार्यपत्रहरूमाथि छलफल हुने कार्यक्रम छ ।
सम्मेलनमा नेपाललगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदार, गैरसरकारी संस्था, र बीमा क्षेत्रका विज्ञहरू गरी चार सयभन्दा बढीको सहभागिता छ ।
समाजमा आर्थिकरूपमा पछाडि परेका वर्ग र लघु, साना तथा मझौला उद्योगहरूको वित्तीय जोखिम न्यूनीकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।