काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा जेठ ३० गते गर्ने भएको छ । जेठ ८ गते बसेको सञ्चालक समिति बैठको निणर्यअनुसार साधारण सभा अरनिको पार्टी प्यालेस बनेपा, काभ्रेपलाञ्चोकमा बिहान १० ः३० बजे शुरू गर्ने जानकारी कम्पनीले दिएको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै प्रस्तावित १३ दशमलव ५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७२ प्रतिशत नगद लाभांशलाई पनि स्वीकृति प्रदान गर्नेछ । साथै बोनस शेयर वितरणपछि कम्पनीको जारी पूँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सभाले कम्पनीको संस्थापक र सर्वसाधारणको शेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकबाट समेत निर्देशन भएको हुँदा आर्थिक वर्ष २०७८/७९को बोनस शेयर वितरणपश्चात् कायम हुने संस्थापक र सर्वसाधारणको शेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारणतर्फको ८ लाख ५३ हजार ६६५ कित्ता साधारण शेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्कासन (एफपीओ) को माध्यमबाट शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
त्यस्तै सभाले समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्सबीच आपसमा मर्जरमा जाने सम्बन्धमा गरिएको समझदारीपत्र, सहमतिपत्र, संयुक्त मर्जर समिति गठन एवं सञ्चालक समितिले संयुक्त मर्जर समितिलाई आवश्यक कार्य गर्न दिएको अख्तियारी प्रत्यायोजन, संयुक्त मर्जर समितिबाट भएका निणर्यहरू र खर्चहरू अनुमोदन गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १८ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा जेठ १७ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन लाभांश पाउन योग्य हुनेछन् ।