किसानका उत्पादन र व्यवसायीबीच सहजीकरणको भूमिका बिचौलियाले निर्वाह गर्छन् । बिचौलियाका बारेमा यहाँ नकारात्मक सोच छ । बजारलाई गतिशील बनाउन मध्यस्थकर्ताको आवश्यकता पर्छ । तर, यहाँ मध्यस्थकर्ताले खेल्नुपर्नेजस्तो भूमिका नखेलेकाले बिचौलियाका बारेमा नकारात्मक कुरा उठेको हो । कालीमाटी तरकारी तथा फलफूल बजारमा बिचौलियाको प्रभाव बढेको कुरामा केही सत्यता छ । तर, बिचौलियालाई बजार विकास समितिले संरक्षण दिएको भन्ने आरोप भने सरासर गलत हो ।
बजारलाई बिचौलियामुक्त र व्यावसायिक बनाउन निरन्तर अनुगमन गरिरहेका छौं । विभिन्न जिल्लाबाट सङ्कलित तरकारी तथा फलफूल कालीमाटीबाट उपत्यकाका विभिन्न स्थानका खुद्रा विक्रेतामार्फत उपभोक्ताले प्रयोग गरिरहेका छन् । तरकारी तथा फलफूल लगनखेल, बालाजु, बानेश्वर, कोटेश्वर, सातदोबाटो विशालनगरलगायतका स्थानमा खुद्रा विक्रेतामार्फत विक्री भइरहेको छ । कालीमाटी थोक विक्री केन्द्रबाट विक्री भएको तरकारी तथा फलफूल खुद्रा विक्रेताले विक्री गर्दा ५० प्रतिशतसम्म महँगो पर्छ । कालीमाटीमा रू. ३० पर्ने काँक्रो उपत्यकाको अन्य स्थानमा प्रतिकेजी रू. ५० देखि ६० सम्म तिरेर उपभोक्ताले निरहेका छन् । कालीमाटीमा बिचौलियाको प्रभाव बढ्यो भन्ने आरोप लागिरहेको छ ।
(कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका कार्यकारी निर्देशक रुद्रबहादुर श्रेष्ठसँगको कुराकानीबाट) वर्ष ७, अंक ३३७, आइतवार ३ भदौ, २०६९