बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीएफआईएन) ले पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (पीएचडीसीसीआई) को सहकार्यमा बुधवार (आज) देखि काठमाडौंमा नेपाल बीएफएसआई समिट–२०२४ आयोजना गर्दै छ । ‘जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि दिगो वित्तपोषणको गहनता’ मूल नाराका साथ हुन लागेको सम्मेलनका विषयमा बीएफआईएन प्रबन्ध निर्देशक डा. विनोद आत्रेयसँग गरिएको कुराकानी :
नेपाल बीएफएसआई समिट–२०२४ को उद्देश्य के हो ?
जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने उपाय र दिगो वित्तीय लगानीका विषयहरूमा छलफल गर्ने उद्देश्यले बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (पीएचडीसीसीआई) को सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपालमा पछिल्लो समय भुइँचालो, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपका कारण जनधनको ठूलो क्षति भइरहेको छ । जलवायु परिवर्तनका कारण मौसम र मानिसको जीवनशैली परिवर्तन भइरहेको छ । अहिले जलवायु परिवर्तनको मुद्दालाई राम्रोसँग सम्बोधन गर्न सकेनौं भने भावी पुस्ताले ठूलो क्षति बेर्होर्नुपर्ने हुन्छ ।
जस्तो अहिले हाम्रा बैंकहरूले कृषिमा लगानी बढाइरहेका छन्, भोलि जलवायु परिवर्तनको असरले सुक्खा भयो भने बैंकहरूको लगानी जोखिममा पर्छ । बाढीले हाइड्रोपावरमा क्षति गर्यो भने बैंकको लगानी पनि जोखिममा पर्छ । त्यसैले जलवायु परिवर्तनका कारण उत्पन्न हुने समस्या केके हुन्, यसले कस्तो असर पुर्याउन सक्छ भन्ने विषयमा छलफल र त्यसको निराकरणका उपाय खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौं ।
कार्यक्रममा कुनकुन क्षेत्रका व्यक्तिहरूको सहभागिता रहन्छ ?
मुख्य अतिथिका रूपमा वन तथा वातावरणमन्त्री सहभागी छन् । यसैगरी राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय बीमा प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका साथै बैंक वित्तीय संस्था, बीमा, जलविद्युत् क्षेत्रका व्यक्तिहरूको सहभागिता रहनेछ ।
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि अस्ट्रेलियाका राजदूत लीन जोन्स्टनका साथै युनाइटेड अरब इमेरेट्स (यूएई), अस्ट्रेलिया, जर्मनी, भारत र नेपालबाट विषयविज्ञहरू कार्यपत्र प्रस्तोता तथा वक्ताका रूपमा छन् । तीनओटा सत्रमा पिपुल प्लानेट एन्ड कोअपरेशन, ग्रीन फाइनान्सिङ र सस्टेनेबल फाइनान्सिङ विषयमा प्यानल छलफल हुनेछ । कार्यक्रममा विभिन्न क्षेत्रका गरी २०० जनाको सहभागिता रहनेछ ।
जलवायु अनुकूल, हरित तथा दिगो वित्तीय लगानीजस्ता विषयमा हाम्रो अवस्था कस्तो पाउनुभयो ?
आजको दिनमा हेर्दा हामीलाई यो विषय त्यत्ति महत्त्वपूर्ण लाग्दैन । किनकि यसले अहिले हाम्रो दैनिक जीवनमा धेरै असर परेको देखिँदैन । तर, यसबारे अहिले नै सचेत भएनौं भने भोलिको पुस्तामा ठूलो असर पर्छ । यस्तो कुरा सबैलाई थाहा छ, तर रोकथामका लागि यथेष्ट काम भएको छैन ।
जस्तो अहिले नेपालमा जुन रूपमा वर्षा भएर कृषि उत्पादन गर्न मद्दत भइरहेको छ, यो वर्षा आधा मात्र भयो भने नेपालको हालत के होला ? कति गम्भीर कुरा छ ? वर्षा नै भएन भने कति व्यक्ति भोकमरीबाट मर्छन् होला ? यस्ता असरबाट जोगाउन सरकार र राष्ट्र बैंकले केही काम गरिरहेका छन् । राष्ट्र बैंकले ग्रीन ट्याक्सनोमीको निर्देशन जारी गरेको छ । बैंकहरूलाई लगानी गर्दा जलवायु परिवर्तनको जोखिम पनि हेर्न निर्देशन दिएको अवस्था छ । बैंकहरूले केही काम गरिरहेका पनि छन् ।
भर्खरै बाकुमा जलवायु सम्मेलन भयो । नेपालबाट पनि सम्मेलनमा सहभागिता थियो । त्यसैले सबैलाई यसबारे जानकारी छ । अहिले नीतिनियम बनाएर काम गरेनौं भने भोलिका सन्ततिले दु:ख पाउँछन् भन्ने कुरा सबैले बुझेका छन् । तर, यसलाई कार्यान्वयन गर्ने प्रंसगमा भने सरकार, राष्ट्र बैंक र अन्य निकायहरूको सहकार्यमा के गर्ने भन्ने ठोस नीति र कार्यक्रमको अभाव देखिएको छ । यो हुनैपर्छ, नगरे कारबाही हुन्छ, कसुरजन्य अपराध हुनेछ भन्ने कानून ल्याएर कार्यान्वयन गर्ने क्षमताको अभाव देखिएको छ ।
सम्मेलनबाट के अपेक्षा गर्न सकिएला ?
जलवायु परिवर्तनको विषय विश्व र हाम्रा लागि नयाँ हो । विकसित देशहरूले पनि गर्दै सिक्दै अघि बढेका छन्, हामी पनि यसैगरी अघि बढ्नुपर्छ । जलवायु परिवर्तनको असरबाट लाखौं व्यक्ति मर्ने, ट्रिलियन डलर आर्थिक क्षति हुने प्रक्षेपण भइरहेका बेला यो मुद्दालाई उजागर गर्ने र सचेत गराउने काम यो सम्मेलनले गर्नेछ । हाम्रो काम नीति निर्माण गर्ने निकायहरूलाई झक्झकाउने, आम सरोकारवालाई बुझाउने नै हो । यसलाई अझ महत्त्व दिएर यसको असरका विषयमा जानकारी गराउने हो ।
कार्यक्रममा उठेका विषयहरूको प्रतिवेदन तयार पारेर सरकार र सरोकारवाला निकायमा बुझाउँछौं । यसले हाम्रा नियम कानून तथा निर्देशनहरू परिवर्तनका लागि सहयोग पुग्नेछ भन्ने हाम्रो विश्वास छ ।