काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रे र सिन्धुपाल्चोकका ५२ बाढीपहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ ।
संस्थाले काभ्रेको पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाका ४५ र सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिका वडा नम्बर १२ भीमटार र मण्डन देउपुरका ७ बाढीपहिरो पीडित परिवारलाई राहत वितरण गरेको हो ।
पनौती नगरपालिका वडा नम्बर १० र बेथानचोक गाउँपालिका वडा नम्बर ४ का पीडितहरूमध्ये पनौतीको खोपासीमा आफन्तको घरमा आश्रय लिइरहेका ४५ परिवारलाई ५ लिटरको प्रेसर कुकर, कराही, डाडु, पन्यु, ६÷६ थान स्टील थाल र गिलास तथा एक थान ब्ल्यांकेट वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले जानकारी दिए ।
राहतमा पाएको खाद्यान्न पकाउन भाँडाकुँडा नभएको भन्ने बुझेर सोहीअनुसार राहत सामग्री उपलब्ध गराइएको डा. घिमिरेले बताए ।
बाढीपहिरोका कारण घर भत्किएका र क्षति पुगेका भीमटार र मण्डन देउपुरका संस्थाका सदस्यका सात परिवारलाई जनही पाँच हजार रुपैयाँका दरले नगद प्रदान गरिएको छ ।
आफ्ना सदस्यहरूको दुःखमा केही भएपनि सहयोग पुगोस् भनेर राहत रकम उपलब्ध गराइएको प्रमुख कार्यकारी अधिकृत डा. घिमिरेले जानकारी दिए ।
यही असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले काभ्रे, सिन्धुपाल्चोक लगायत जिल्लामा क्षति पुर्याएको छ ।