विश्वमा वस्तु व्यापारको करीब २५ प्रतिशत सेवा व्यापारको रहने गरेको छ । यस वस्तु व्यापारमा शिक्षासेवाको आयातनिर्यात व्यापारको पनि ठूलो योगदान रहेको छ । सन् २०२२ मा विश्व शिक्षा व्यापार करीब २४ अर्ब अमेरिकी डलरको शिक्षा व्यापार रहेको छ ।
परन्तु नेपालको शिक्षासेवा व्यापारको अवस्था सन्तोषजनक छैन । लामो समयदेखि शिक्षा सेवामा नेपालको व्यापारघाटाको आकार विशाल रहँदै आएको छ । आर्थिक वर्ष (आव) २०२३/२४ मा शिक्षाक्षेत्रमा मात्र नेपालको व्यापारघाटा करीब ९० अर्ब बराबर रहेको छ ।
यसरी शिक्षाक्षेत्रमा निरन्तर व्यापारघाटा बढी रहँदा यसमा दुईथरी निष्कर्ष निकाल्न सकिन्छ । पहिलो, जुन क्षेत्रमा शिक्षा व्यापारमा नेपालीहरू विदेशमा अध्ययन गरिरहेका छन् ती विधामा नेपालका शिक्षण संस्थाहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्नुको साथै शिक्षालाई दक्ष रोजगारीसँग योजन गर्न सकिएको छैन । दोस्रो जुन विधामा नेपालले शिक्षासेवाको निर्यात गर्न सक्छ, जो क्षेत्रको पहिचान र विकास हुन सकेको छ्रैन ।
नेपालको ऐतिहासिक अवस्था, अनुभव र विश्वासलाई दृष्टिगत संस्कृत शिक्षामा नेपाललाई थुप्रै अवसर प्राप्त छन् । विशेष गरी नेपाललगायत विश्वभरी विशेष गरी हिन्दू बौद्धधर्मको बाहुल्य भएको समाज र भारोपेली भाषा परिवारका पश्चिमी गोलार्ध र मध्य एशियाली देशहरूमा संस्कृतको आकर्षणमा व्यापक वृद्धि भएको छ । संस्कृत भाषामा रहेको यो आकर्षणलाई नेपालले उपयोग गर्न सकेको खण्डमा संस्कृत भाषाको सेवाको निर्यातमार्फत देशलाई समृद्ध बनाउन सक्ने देखिन्छ ।
नेपाल नै किन ?
नेपाल विश्वका दुई महाशक्ति परन्तु समाज सभ्यता र मान्यता बोकेका भारत र चीनबाट वेष्टित छ । परापूर्वकालदेखि नै नेपाल उपत्यका भारत र चीनका विद्वान्हरूको संगमस्थलमा रहिआएको थियो । राणाकालसम्म पनि विश्वका संस्कृतको विषयमा केही विषयवस्तुमा विवाद भएमा अन्तिम निर्णयका लागि नेपालमा संस्कृतका विद्वान्हरूलाई सोध्ने परम्परा रहेको थियो । नेपालको तटस्थताको चरित्रका कारण मृदुशक्तिमा नेपाललाई भारतको भन्दा बढी सहज छ । अहिले पनि संस्कृतमा कहीँ नभएका ग्रन्थहरूको चर्चा गर्दा सबैको आँखा नेपालतिर नै लाग्ने गर्छ । संस्कृत शिक्षाका लागि प्रशस्त मात्रामा भूमि उपलब्ध छ । नेपालको जलवायु पनि विश्वका सबैप्रकारका विद्यार्थीका लागि उपयुक्त प्रकारको छ । सामाजिक र राजनीतिक वातावरण शान्तमय हुँदै आएको छ । संस्कृत र अंग्रेजी भाषा, संस्कृत विद्या र आधुनिक विज्ञानमा नेपाली संस्कृतका विद्वान्हरूमा पकड बढ्दै गएको छ । यस परिस्थितिमा राज्यले संस्कृत शिक्षामा थोरै मात्र लगानी गर्ने र संस्कृत शिक्षा र व्यवसायलाई आपसमा जोड्ने र समाजसेवा र संस्कृत शिक्षालाई एकआपसमा जोड्ने परिपाटीको विकास गर्ने हो भने छोटो समयमा संस्कृत शिक्षा सेवाको निर्यात नेपालको आर्थिक समृद्धिमा ठूलो योगदान दिने देखिन्छ ।
विश्वमा संस्कृतप्रतिको आकर्षणका केही उदाहरण
आफ्नाहरूकै निरन्तर अपहेलना, तिरस्कार र आक्रमणका हुँदाहुँदै पनि विश्वमा संस्कृत शिक्षणको अवस्था दिनप्रतिदिन सुधार हुँदै गएको छ । छिमेकी मुलुक भारतमा पूर्णानन्द संस्कृत विश्वविद्यालय, मद्रास संस्कृत कलेज, कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, राष्ट्रिय संस्कृत विश्वविद्यालय, श्री लालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विद्यापीठ, केन्द्रीय संस्कृत विश्वविद्यालय (पहिले राष्ट्रिय संस्कृत संस्थान), श्री जगन्नाथ संस्कृत विश्वविद्यालय, श्री शंकराचार्य संस्कृत विश्वविद्यालय, कविकुलगुरु कालिदास संस्कृत विश्वविद्यालय, जगद्गुरू रामानन्दाचार्य राजस्थान, संस्कृत विश्वविद्यालय, श्री सोमनाथ संस्कृत विश्वविद्यालय, श्री वेंकटेश्वर वैदिक विश्वविद्यालय, महर्षि पाणिनी संस्कृत एवम् वैदिक विश्व विद्यालय, महर्षि वाल्मीकि संस्कृत विश्वविद्यालयजस्ता संघीय संस्थानहरू संस्कृत भाषा शिक्षण कार्यमा सक्रिय रहेका छन् ।
विश्वका इस्लाम धर्मावलम्बी देशहरूमा बंगलादेशमा बंगलादेश संस्कृत र पाली शिक्षा बोर्ड, ढाका विश्वविद्यालयका संस्कृत विभागहरू, राजशाही विश्वविद्यालय, चटगाउँ विश्वविद्यालय र राष्ट्रिय विश्वविद्यालयअन्तर्गत संस्कृतको पठनपाठन हुँदे आएको छ । यसैगरी विश्वको सबैभन्दा जनसंख्या भएको अर्को इस्लाम धर्मावलम्बी देश इन्डोनेशियाको बालीको उदयमा विश्वविद्यालय, ताम्पुङ पेन्याङको राज्य हिन्दू कलेजमा पनि संस्कृतको अध्ययन अध्यापन हुने गरेको छ ।
नेपालमा नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न महाविद्यालय र संस्कृत माविहरूमार्फत प्राथमिक र माध्यमिक विद्यालय स्तरमा संस्कृत पठनपाठन हुँदै आएको छ । दक्षिण एशियामा संस्कृतप्रति वास्तविक सम्मान भएको देश श्रीलंकामा एक दर्जनभन्दा बढी विश्वविद्यालयसहित, संस्कृतमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि डिग्री प्रदान गर्ने गरिन्छ । भुटानमा नालन्दा बौद्ध संस्थानमा संस्कृत ग्रन्थहरूको अध्यापन हुने गर्छ ।
कम्बोडियामा प्रेह सिंहानोक राज बौद्ध विश्वविद्यालय, ललित कला शाही विश्वविद्यालय, नोम पेन्हको शाही विश्वविद्यालयहरू संस्कृत पठनमा सक्रिय रहेका छन् । चीनमा बेइजिङ विश्वविद्यालय, चीनको हङकङ, हङकङ विश्वविद्यालय, ताइवानको नेशनल ताइवान युनिभर्सिटी तथा फो गुआङ युनिभर्सिटीमा संस्कृतको शिक्षण हुने गरेको छ ।
जापानको क्योटो विश्वविद्यालय, लाओसको भिएन्टियान संघ कलेज, चम्पासक संघ कलेज, म्यानमारको राज्य परियत्ति शासना विश्वविद्यालय, मन्डलेराज्य परियत्ति साशना विश्वविद्यालयमा पनि संस्कृतलाई प्राथमिकताका साथ अध्ययनअध्यापनको सूचीमा राख्ने गरिएको छ ।
यस्तै सिंगापुरका येल–एनयूएस कलेज अफ नेशनल युनिभर्सिटी अफ सिंगापुर, येल युनिभर्सिटी सिंगापुर, युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड डिजाइन, ग्लोबल इन्डियन इन्टरनेशनल स्कूल, दक्षिण कोरियाको डोङगुक युनिभर्सिटी, थाइल्यान्डका सिलपाकोर्न युनिभर्सिटी, चुलालोङकोर्न युनिभर्सिटी, महिडोल युनिभर्सिटीमा संस्कृतको अध्ययनअध्यापन कार्य लामो समयदेखि सञ्चालन हुँदै आएको छ ।अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संस्कृत अध्ययनको केन्द्रका रूपमा विकास हुन थालको छ । त्यहाँका सेन्ट जेम्स प्रिपरेटरी केप टाउन, डरबन र जोहानेसबर्गका स्कूलहरूले संस्कृत कक्षाहरू सञ्चालन गर्ने गर्छन् ।
अमेरिकी गोलार्धमा ब्राजिलको साओ पाउलो विश्वविद्यालय, क्यानडामा कन्कोर्डिया विश्वविद्यालय, म्याकगिल विश्वविद्यालय, म्याकमास्टर विश्वविद्यालय, ब्रिटिश कोलम्बिया विश्वविद्यालय, क्यालगरी विश्वविद्यालय, सास्काचेवान विश्वविद्यालय, टोरन्टो विश्वविद्यालय, मेक्सिकोमा एल कोलेजियो मेक्सिकोमा संस्कृतका पठनपाठनका क्रियाकलापहरू सञ्चालन हुँदै आएका छन् । विश्वको महाशक्ति मुलुक संयुक्त राज्य अमेरिकाका जोन्स हप्किन्स विश्वविद्यालय, हार्बर्ड विश्वविद्यालय, अमेरिकाको हिन्दू विश्वविद्यालय जस्ता ख्यातिप्राप्त गुरुकुलमा संस्कृतको गहन र विस्तृत अध्ययन अध्यापन तथा अनुसन्धानकार्यहरू सञ्चालनमा छन् विश्वको एकमात्र यहुदी मुलुक इजरायलका जेरुसेलम हिब्रु विश्वविद्यालय र तेल–अभिभ विश्वविद्यालयमा संस्कृतका कार्यक्रमहरू अनवरत रूपमा सञ्चालन हुँदै आएका छन् ।
यूरोप विश्व संस्कृत अध्ययन, अध्यापन र अनुसन्धानको केन्द्रका रूपमा विकास हुन थालेको छ । हिन्दू धर्मावलम्बीहरूले तिरस्कार, अपहेलना र आक्रमण गरी ध्वस्त हुने संघारमा पुगेको संस्कृत भाषामा पश्चिमा विद्वान्हरूको ध्यान केन्द्रित हुन थालेपछि मात्र भारत र नेपालमा प्राथमिकता दिन थालिएको संस्कृत भाषाको पुनरुत्थानको जिम्मेवारी यूरोपले आफ्नो काँधमा लिन थालेको छ । यसको प्रमाण स्वरूप यूरोपेली महादेशमा संस्कृत शिक्षणको गुणस्तर र संस्कृतलाई प्रविधिसँग एकाकार गर्ने ती शिक्षण संस्थानहरूका संस्थागत प्रयाशहरूलाई लिन सकिन्छ । नेपाल र भारतमा संस्कृतका विद्वान्हरूले संस्कृतको अध्यापनमा लघुताभास गरिरहँदाका परिवेशमा आज कहीँ कतै म संस्कृतको विद्यार्थीहरू हुँ भनी गर्व गर्ने प्राज्ञिक संस्कार पश्चिमी गोलार्धका प्राज्ञहरूमा मात्र विद्यमान छ ।
यसैको प्रमाण स्वरूप अस्ट्रियामा भियना विश्वविद्यालयले संस्कृत पाठ्यक्रमहरू प्रदान गर्छ भने बेल्जियममा गेन्ट विश्वविद्यालय र लुभेन विश्वविद्यालय, डेनमार्कमा कोपनहेगन विश्वविद्यालय, फिनल्यान्डमा हेलसिंकी विश्वविद्यालय, फ्रान्समा पेरिस विश्वविद्यालय, लियोन विश्वविद्यालय, प्रोभेन्स विश्वविद्यालयहरू संस्कृतको संरक्षण र अध्ययनमा सक्रिय छन् । भारतबाहेक संस्कृत अध्ययन, अनुसन्धानमा सबैभन्दा ठूलो केन्द्रका रूपमा जर्मनीको विकास हुन थालेको छ । विशेष गरी त्यहाँका बर्लिनको नि:शुल्क विश्वविद्यालय, बोन विश्वविद्यालय, फ्रेइबर्ग विश्वविद्यालय, गोटिंगेन विश्वविद्यालय, हेले विश्वविद्यालय, ह्याम्बर्ग विश्वविद्यालय, हाइडेलबर्ग विश्वविद्यालय, किएल विश्वविद्यालय, लाइपजिग विश्वविद्यालय, मेन्ज विश्वविद्यालय, मारबर्ग विश्वविद्यालय, म्युनिख विश्वविद्यालय, टुबिंगेन विश्वविद्यालय र वुर्जबर्ग विश्वविद्यालयहरूको संस्कृतको समृद्धिमा ठूलो योगदान रहेको छ । बेलायतका अक्सफोर्ड विश्वविद्यालय, एडिनबर्ग विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालय, लन्डन विश्वविद्यालयजस्ता शिक्षाका प्रख्यात केन्द्रभूमिमा संस्कृतको जुन गरिमा स्थापित छ त्यो वास्तविक संस्कृतप्रेमीहरूका लागि गर्व र आशाको विषय बन्न गएको छ ।
यस्तै इटालीका बोलोग्ना विश्वविद्यालय, रोम विश्वविद्यालय, मिलान विश्वविद्यालय, युनिभर्सिटी क्याटोलिका डेल स्याक्रो क्युओर, भेनिस विश्वविद्यालय, पिसा विश्वविद्यालय, नेपल्स विश्वविद्यालय, काग्लियारी विश्वविद्यालय, फ्लोरेन्स विश्वविद्यालय, पालेर्मो विश्वविद्यालय तथा टुरिन विश्वविद्यालय, नेदरल्यान्ड्सका ग्रोनिंगेन विश्वविद्यालय तथा लिडेन विश्वविद्यालय, एशियाली अध्ययनका लागि अन्तरराष्ट्रियसंस्थानहरू संस्कृत क्षेत्रमा क्रियाशील रहेका छन् ।
त्यस्तै नर्वेको ओस्लो विश्वविद्यालय, पोल्यान्डको वार्सा विश्वविद्यालय, ज्यागिलोनियन विश्वविद्यालय, एडम मिकिविच विश्वविद्यालय, ब्रोकला विश्वविद्यालय तथा लुब्लिनको क्याथोलिक विश्वविद्यालय, पोर्चुगलको लिस्बन विश्वविद्यालय, रूसको मस्को राज्य विश्वविद्यालय तथा सेन्ट पिटर्सबर्ग राज्य विश्वविद्यालय, स्पेनको सलामान्का विश्वविद्यालय, स्वीडेनका स्टकहोम विश्वविद्यालय तथा उप्सला विश्वविद्यालय, स्वीट्जरल्यान्डका लौसेन विश्वविद्यालय, जुरिच विश्वविद्यालय तथा मुन्स्टर विश्वविद्यालयहरू पनि संस्कृत अध्ययन अनुसन्धानमा सक्रिय छन् । यसै गरी अस्ट्रेलिया महादेशका अस्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालय, ला ट्रोब विश्वविद्यालय, क्वीन्सल्यान्ड विश्वविद्यालय, सिड्नी विश्वविद्यालय, सिड्नी व्याकरण विद्यालय, फिजीको फिजी विश्वविद्यालय तथा न्यूजील्यान्डका म्यासी विश्वविद्यालय, अकल्यान्ड विश्वविद्यालय, विश्वविद्यालय ओटागोको, फिसिनो स्कूल तथा माउन्ट इडेन स्कूलहरू संस्कृत क्षेत्रको विकास र विस्तारमा सक्रिय रहेका छन् ।
नेपालमा संस्कृतप्रति अनास्था फैलाइरहँदा पश्चिमी गोलार्धले संस्कृत भाषाको अनलाइन सर्च इन्जिनको विकासलाई मूर्तरूप दिन सक्रिय रहेको सन्दर्भमा सृष्टिको बीउ जोगाउन मार्कण्डेय ऋषिले खेलेको भूमिका र संस्कृतको बीउ जोगाउन पश्चिमी गोलार्धले खेलेको भूमिका ऐतिहासिक छ ।
नेपालका संस्कृतको समृद्धिमा ऐतिहासिक भूमिकामा रहेका समाजका प्रतिष्ठाको प्रतिमूर्तिका रूपमा रहेको जातिको बाहुल्य भएका राजनीतिक दलहरूले संस्कृतको मूलोच्छेदन गरी रहँदा संस्कृतको विकासमा योगदान दिने महापुरूषलाई अपराधीका रूपमा व्याख्या गरी उनीहरूलाई तिरस्कार गरिरहँदा यूरोपका विश्व विद्यालयहरूमा संस्कृतका पाण्डुलिपिहरू डिजिटल फरम्याटमा सुरक्षित राख्ने गरी आईटी र संस्कृतका विद्वान्हरू अहोरात्र खटिरहेको, संस्कृतका थप शिक्षण कार्यक्रमहरू सञ्चालन भइरहेका प्रसंग पनि यहाँ उल्लेख गर्नु उपयुक्त हुन्छ । उपर्युक्तबमोजिम नेपाललाई संस्कृतको आकर्षक केन्द्रविन्दु बनाउँदै संस्कृत र नेपालीलाई पर्यायवाचीका रूपमा विकास गर्न निम्न विषयमा ध्यान जानु आवश्यक छ ।
सर्वप्रथम संस्कृत पठनपाठनमा आधुनिक प्रविधिलाई व्यापक उपयोग गर्नुपर्छ । दोस्रो, संस्कृतका कक्षा र छात्रावाशहरू पाँचतारे होटलसरह हुने गरी स्तरोन्नति गर्न आवश्यक छ । तेस्रो, संस्कृतका गहन, अप्रकाशित र अपरिभाषित ज्ञानलाई विश्वका प्रमुख भाषाहरूमा सञ्चारित गर्ने गरी संंयन्त्र बनाउन आवश्यक छ । चौथो, संस्कृत सेवाको निर्यात हुने गरी देशको आर्थिक कूटनीति परिचालन हुन पनि त्यत्तिकै जरुरी छ । पाँचांै, देशमा उपयोग हुन नसकेको स्रोतसाधनलाई संस्कृतको विकासमा मूलप्रवाहीकरण गर्ने सृजनशीलताको पनि त्यत्तिकै जरूरी छ । सबैभन्दा महत्त्वपूर्ण कुरा संस्कृतमा रहेका रहस्य र ज्ञानलाई प्रकाशित गर्न अनुसन्धानमा व्यापक लगानी हुन आवश्यक छ । विशेष गरी अनुसन्धानमा वृत्तिको व्यवस्था र अनुसन्धानलाई विश्वव्यापीकरण गर्न यस क्षेत्रमा व्यक्तिगत र संस्थागत दुवै लगानी आकर्षित गर्ने मोडलमा जान पनि त्यत्तिकै आवश्यक छ । उदाहरणका लागि संस्कृतको गणितलाई आधुनिक गणितसँग, ज्योतिषलाई अन्तरिक्ष अनुसन्धान, आयुर्वेदलाई आधुनिक औषधी विज्ञानसँग जोड्ने गरी अन्तरविधा सहकार्य र सम्पर्क स्थापित हुन जरुरी छ । यस्ता अभियानमा नेपालकै मात्र होइन, विदेशी विद्वान् र विश्वविद्यालयहरूलाई पनि नेपाल संस्कृत विश्वविद्यालयसँग जोड्न अति जरुरी छ । सबैभन्दा महत्त्वपूर्ण संस्कृतलाई आधुनिक प्रविधिसँगै संस्कृतमात्रै होइन सबै प्राचीन भाषाको अध्ययनको मियोका रूपमा नेपाल संस्कृत विश्वविद्यालयसँग जोड्न अति जरुरी छ । सबैको साथ सबैको विश्वास आर्जन गर्दै सम्यक विचार र दृष्टिले अघि बढ्ने हो भने नेपालका संस्कृतका विद्यार्थीहरू विश्वका माथि उल्लिखित विश्वभरिका शिक्षणसंस्थानहरूमा गुरुका रूपमा प्रवचन र अनुसन्धान गरिरहेका भेटिनेछन् भने विश्वका संस्कृतका अनुसन्धानकर्ता र विद्यार्थीहरूका लागि संस्कृत पढ्न नेपाल जानु भन्ने उखानको विकास हुनेछ । परम्पराको संरक्षण, अर्थोपार्जन, देशको ख्याति, कीर्ति र यशमा वृद्धि गर्ने संस्कृत शिक्षाको विकासमा प्राज्ञिक जगत्, श्रेष्ठीवर्ग र राजनीतिक नेतृत्वको त्रिकोण स्थापन गरी अघि बढ्नु आवश्यक छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।