काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६० हजार ५० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले फागुन १९ गते ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिसम्म विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय गैडाकोट, नवलपरासीमा आवेदन पेश गर्नुपर्नेछ । उक्त संस्थापक शेयरको खरीद विक्री सञ्चालक समितिले निर्णय गरे बमोजिम हुनेछ ।
कुमारी बैंकको १० लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
कुमारी बैंक लिमिटेडले १० लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । बैंकले विरेन्द्र कुमार साहको नाममा रहेको यी शेयर विक्री गर्न लागेको हो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।