काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापकतर्फको १९ प्रतिशत शेयर स्वामित्व सर्वसाधारणमा परिणत गर्ने भएको छ ।
कम्पनीले हाल कायम ७० प्रतिशत संस्थापकतर्फको शेयर स्वामित्व ५१ प्रतिशतमा झार्न लागेको हो । संस्थापकतर्फको शेयर स्वामित्व घट्ने भएसँगै कम्पनीको सर्वसाधारणतर्फको हाल कायम ३० प्रतिशत शेयर स्वामित्व ४९ प्रतिशत कायम हुनेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३४ करोडभन्दा माथि पुगेको छ । कम्पनीले यस वर्ष रू. २ अर्ब १५ करोड चुक्तापूँजीको आधारमा ८ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव माघ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको हो ।
बोनस शेयर सूचीकृत हुन बाँकी रहेको छ । सोही सभाबाट कम्पनीले शेयर संरचना परिवर्तनको प्रस्तावसमेत पारित गरेको थियो । आफ्नो स्वामित्वको संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न नचाहने सदस्यहरूले आगामी सात दिभित्र कम्पनीमा जानकारी गराउनुपर्नेछ ।