काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म २२ करोड २८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानी व्यहोरेको छ ।
अघिल्लो आवको यस अवधिसम्म ४ लाख ५६ हजार रुपैयाँ खुद नाफामा रहेको कम्पनी गत आवमा सञ्चालन खर्च बढी हुँदा नोक्सानीमा गएको हो । कम्पनीको सञ्चालन खर्च अघिल्लो आवमा ८ करोड २० लाख रुपैयाँभन्दा बढी रहेकोमा गत आवमा २३ करोड २१ लाख रुपैयाँभन्दा बढी छ ।
विद्युत् विक्री आम्दानी पनि गत आवमा घटेको छ । अघिल्लो आवमा ३७ करोड १२ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको विद्युत् विक्री आम्दानी गत आवमा ३० करोड ८४ लाख रुपैयाँभन्दा बढी भएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार रुपैयाँ छ । शेयर प्रिमियममा ५ करोड ९२ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको पूँजीकोषमा ६ करोड ६९ लाख रुपैयाँभन्दा बढी छ भने जगेडा कोष रकम २५ करोड ५२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
वार्षिक ९ रुपैयाँ ५९ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९४ रुपैयाँ ४४ पैसा छ ।