काठमाडौं । सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार होटलको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २४१ प्रतिशत वृद्धि भएको छ । होटलले गत आवमा रू. १० करोड ८५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. ३७ करोड ११ लाख पुगेको हो ।
चालू आवमा होटलको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा होटलको आम्दानी १०२ प्रतिशत वृद्धि भएको छ । गत आवमा होटलको आम्दानी रू. ७४ करोड ३८ लाख रहेकोमा चालू आवमा बढेर रू. १ अर्ब ५० करोडभन्दा माथि पुगेको छ ।
चुक्तापूँजी रू. ८८ करोड ४७ लाख रहेको होटलले जगेडामा रू. १ अर्ब ३ करोडभन्दा बढी सञ्चित गरेको छ । नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा होटलको प्रतिशेयर आम्दानी १ रुपैयाँ २९ पैसा रहेकोमा चालू आवमा बढेर ४ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात ५८ दशमलव ६१ गुणा र प्रतिशेयर नेटवर्थ रू. २१ दशमलव ७१ रहेको छ ।