काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले कुल १६ हजार ३८२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ५ हजार ४०० कित्ता र अन्य व्यक्ति तथा संस्थाले पनि खरीद गर्न पाउने गरी १० हजार ९८२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
चैत १ गतेदेखि विक्रीमा आएको यी शेयरमध्ये संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने ५ हजारभन्दा बढी कित्ता शेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने १० हजारभन्दा बढी कित्ता शेयरको मूल्य प्रतिकित्ता ६५५ रुपैयाँ तोकिएको छ ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र र अन्य व्यक्ति तथा संस्थाहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन कम्पनीको केन्द्रीय कार्यालय विराटनगर, मोरङमा पेश गर्नुपर्नेछ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेको १० हजारभन्दा बढी कित्ता संस्थापक शेयर दोस्रो चरणमा सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा आएको ५ हजारभन्दा बढी कित्ता शेयर विक्री नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिनेछ ।