काठमाडौं । नेपाल धितोपत्र बोर्डको नियुक्ति प्रक्रिया अघि बढिरहँदा सरकारी उच्च तहबाट चलखेल हुनसक्ने भन्दै चार लगानीकर्ता संघहरूले चेतावनी दिएका छन् ।
जनरल इन्भेष्टर एशोसिएसन, नेपाल शेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले असार १ गते संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बोर्डजस्तो सम्वेदनशील नियामक निकायमा नेपाल सरकारले लामो समय अध्यक्ष पद रित्त गराउनु लज्जाको विषय भएको संघहरूको भनाई छ । विभिन्न सञ्चारमाध्यमहरूमा अध्यक्ष नियुक्तिको विषयलाई लिएर ठूलो आर्थिक चलखेल भएको कुरा सार्वजनिक भएकाप्रति संघहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
केही व्यावसायिक घरानाका व्यक्तिहरू आफ्नो निहित स्वार्थको लागि बोर्ड अध्यक्षमा आफ्नो नजिकको मान्छे नियुक्त गर्न सरकारलाई दबाब दिइरहेको भन्ने सुन्नमा आएको प्रति संघहरूले चिन्ता व्यक्त गरेका छन् । बोर्ड एउटा स्वायत्त निकाय हुनु जरुरी रहेको उल्लेख गर्दै यस निकाय पार्टीगत भागबण्डा, पैसा र शक्तिको आडमा गरिने यस्ता कार्यले स्वच्छ लगानीको वातावरण सिर्जना नहुने विज्ञप्तिमा उल्लेख छ ।
'अनुभवी, स्वतन्त्र, राष्ट्रिय, अन्तरराष्ट्रिय पूँजी बजारसम्बन्धी राम्रो ज्ञान झएको विज्ञ व्यक्तिलाई सरकारले बोर्ड अध्यक्षमा नियुक्त गरोस्, अन्यथा तथ्यगत प्रमाणको आधारमा लगानीकर्ताले कदम चाल्न बाध्य हुनेछन्,' विज्ञप्तिमा चेतावनीसहित भनिएको छ ।
गत माघदेखि अघि बढेको बोर्ड अध्यक्ष नियुक्तिका लागि अन्तिम छनोटमा परेका पाँच जनाको अन्तरवार्ता आइतवार लिइएको छ । विहान ९ बजेदेखि अन्तरवार्ता शुरु भएको हो ।
बोर्ड अध्यक्षका लागि छनोटमा परेका पाँचजनामा बोर्डका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, साविक बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाई र सन्तोष श्रेष्ठ छन् ।
कार्ययोजना प्रस्तुतीकरण तथा अन्तरवार्ताको आधारमा सिफारिस समितिले पाँच जनामध्येबाट तीन जनाको नाम सरकारसमक्ष सिफारिस गर्नेछ । तीन जनामध्येबाट १ जना सोमवारको मन्त्रिपरिषदको बैठकबाट अध्यक्षका लागि नियुक्त गर्नेछ ।