काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये युनिलिभर नेपालको शेयर मूल्य सर्वाधिक छ । २०८० सालको अन्तिम कारोबार दिनसम्म कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४० हजार ४५० रुपैयाँ कायम भएको हो । दोस्रो बजारमा कम्पनीको ९ लाख २० हजार ७०० कित्ता शेयर सूचीकृत छ । हाल कम्पनीको कुल शेयरको मूल्य भने ३७ अर्ब २४ करोड २३ लाख १५ हजार रुपैयाँ छ ।
सर्वाधिक शेयर मूल्य भएका कारण कम्पनीको शेयर कारोबार भने कम नै देखिन्छ । पछिल्लो महीना चैतको कारोबारलाई मात्र हेर्ने हो भने कम्पनीको २ हजार १८६ कित्ता मात्र शेयर कारोबार भएको छ ।
चैतमा भएको १८ दिनको कारोबारमा कम्पनीको उक्त कित्ता ८ करोड ७१ लाख ५८ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको हो । एक वर्षमा भएको मूल्य उतारचढावलाई हेर्दा २०७९ सालको अन्तिम कारोबार दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता २४ हजार १० रुपैयाँ थियो । २०८० सालको कारोबारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १६ हजार ४४० रुपैयाँले बढेको हो ।
बहुराष्ट्रिय कम्पनीको रूपमा सञ्चालित यस कम्पनीले लगानीकर्ताहरूलाई लाभांश वितरणका क्रममा नगद लाभांश मात्र वितरण गरेको तथ्याङ्क छ । कम्पनीले वार्षिक आकर्षक लाभांश वितरण गर्दै आएको छ ।
पछिल्ला वर्षहरूमा सूचीकृत धेरैजसो कम्पनीले लाभांश वितरण नगर्दा यस कम्पनीले भने १ हजार ५८० प्रतिशत नगद लाभांश वितरण गरेको छ । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कम्पनीले उक्त लाभांश वितरण गरेको हो । गत वर्षको वार्षिक साधारण सभा मंसिर २६ गते नै सम्पन्न गरी कम्पनीले पुस ५ गतेदेखि नै लाभांश वितरण गर्न शुरु गरेको थियो । पछिल्लो पाँच वर्षका लाभांश वितरणको अवस्था हेर्दा कम्पनीले यस वर्ष सर्वाधिक लाभांश वितरण गरेको हो । गत वर्ष भने कम्पनीले १ हजार २१५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
साना लगानीकर्ताको पहुँचमा कम पर्ने यस कम्पनीको शेयर मूल्य देख्दा भने सन्तुष्टि मिल्ने अग्रज लगानीकर्ता डम्बरु बल्लब घिमिरे बताउँछन् । कम्पनीको वित्तीय अवस्था, व्यवस्थापन र निरन्तर आकर्षक लाभांश र वितरण प्रक्रियाका कारण नै कम्पनीको शेयर मूल्यमा सकारात्मक प्रभाव परेको घिमिरे बताउँछन् ।
अस्वभाविकरूपमा खराब वित्तीय अवस्था भएका कम्पनीको शेयर मूल्य बढ्दा बजारको दिगोपनमा नकारात्मक प्रभाव पार्ने भएकाले राम्रा कम्पनीको शेयर मूल्यले सकारात्मक गति लिएर अघि बढे मात्र बजारको दीर्घकालीन विकास हुने विचार घिमिरेको छ ।
शेयर मूल्यलाई हेर्दा राम्रो कम्पनीको सूचीमा परेको युनिलिभरको पछिल्लो वित्तीय विवरणलाई केलाउँदा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस अवधिसम्म १ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी खर्च गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति ७ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी छ ।