काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा परेका लगानीकर्ताले छोटो समयमै आकर्षक प्रतिफल प्राप्त गरेका छन् । लगातार पाँच कारोबार दिन सकारात्मक सर्किट लागेर कम्पनीको शेयर प्रतिकित्ता रू. ८९५ दशमलव १० पुगेको छ ।
कम्पनीको आईपीओमा ५० कित्ता प्राप्त गरेका लगानीकर्तालाई आजसम्म १४८ रिटर्न अर्थात् २६ हजार ७ सय १० रुपैयाँ नाफा भएको छ । आईपीओमा आवेदन दिँदा लगानीकर्ताले १८ हजार ४५ रुपैयाँ खर्च भएको थियो ।
कम्पनीले बुक बिल्डिङ विधिबाट पहिलो पटक प्रतिकित्ता रू. ३६० रुपैयाँ ९० पैसामा आईपीओ निष्कासन गरेको थियो । कम्पनीको शेयर गत हप्ता मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको हो । पाँच कारोबार दिनमा कम्पनीको ६७ हजार ७३१ कित्ता शेयर कारोबार भएको छ ।
बुक बिल्डिङ विधिअनुसार सर्वसाधारण समूहलाई निष्कासन गरिएको ६० लाख कित्ता शेयरमध्ये पनि २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताले किनेर बसेका छन् । त्यो शेयर ६ महीना होल्डमै बस्छ ।
त्यसैगरी कम्पनीका कर्मचारी, स्थानीय आयोजना प्रभावितलाई दिएको शेयर पनि ३ वर्षसम्म लकिङमै रहन्छ, जुन ६० लाखभित्रै पर्न आउँछ । त्यसैगरी म्युचुअल फण्डले पाएको शेयर पनि ६ महीना लकिङमै रहन्छ । सर्वसाधारणको नाममा निष्कासन गरिएको २७ लाख ७६ हजार ७६ कित्ता शेयर मात्रै कारोबारमा आउने हुँदा लगानीकर्ताका लागि आपूर्ति कम भएर यस कम्पनीको शेयरमा आकर्षण भएको हो ।
बजारमा थोरै कित्ता मात्रै शेयरको कारोबार हुने कम्पनीको शेयर मूल्य साधारणतया उच्च मूल्यमा कारोबार हुने गरेको छ । पछिल्लो केही वर्षयता नेपालको शेयर बजारमा कम चुक्ता पूँजी भएका कम्पनीको शेयर मूल्यमा धेरै उतारचढाव हुने गरेको देखिन्छ । अझ सर्वसाधारणसँग थोरै कित्ता मात्रै भएको कम्पनीको शेयर भने कम्पनीको आधारभूत अवस्था जस्तोसुकै भए पनि एक चरणको उच्च मूल्यमा कारोबार हुने गरेको देखिन्छ ।