काठमाडौं । धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको सातौं दिनसम्म सकारात्मक सर्किट लागेको सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा आठौं दिनमा आइतवार (आज) भने नेगेटिभ सर्किट लागेको छ ।
कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ९९ प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९ सय ७४ दशमलव ५० मा झरेको छ ।
कारोबारमा आएको आठौं दिन आइतवार भने कम्पनीको शेयरमा विक्री चाप देखिएको छ ।
आइतवार यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर कारोबार सर्वाधिक रू.२७ करोड ९५ लाख बराबरको भएको छ । 'मार्केट डेप्थ'मा हेर्दा कम्पनीको शेयरमा १ लाख ३४ हजार ९३२ कित्ता शेयर विक्री माग छ भने खरीद माग शून्य छ ।
कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा करीब ५५ हजार लगानीकर्ताले ५० कित्ताको दरले शेयर पाएका थिए, जसमा उनीहरूले प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले रकम तिरेका थिए ।
दोस्रो बजारमा भने कम्पनीको शेयर नेटवर्थको तीन गुणा अर्थात् ५ सय ५६ रुपैयाँबाट कारोबार शुरु भएको थियो ।