काठमाडौं। आबाल ब्रह्मचारी षडानन्द अधिकारीको नाममा कृषि एवं योग विश्वविद्यालय स्थापनाको विषयमा गत शनिवार काठमाडौंमा सरोकारवालाहरूसँग छलफल भएको छ । भोजपुरको षडानन्द नगरपालिका–७ दिङ्ग्लामा उक्त विश्वविद्यालय स्थापनाको प्रस्ताव गरिएको छ ।
कार्यक्रममा विश्वविद्यालय स्थापनाको आवश्यकता, औचित्य र हालसम्म भए/गरेका पहल, प्रक्रियालगायत विषयमा सरोकारवालाहरूलाई जानकारी गराउनुका साथै सुझाव समेत लिइएको षडानन्द विश्वविद्यालय सरोकार समाजका अध्यक्ष ऋषिराज लुम्सालीले जानकारी दिए ।
देशमा दिनप्रतिदिन बढ्दै गएको बाँझो जमीनमा जैविक प्रविधिमार्फत खेती गर्ने, मौलिक तथा परम्परागत रैथाने बाली प्रवर्द्धन गर्ने, कृषिमा रोजगारीका अवसर सृजना गरी युवाको विदेश पलायन रोक्ने लगायत उद्देश्यले उक्त विश्वविद्यालय स्थापनाको पहल थालिएको संस्थाले बताएको छ । यसैगरी समुदायलाई योगमार्फत शारीरिक, मानसिक तथा आध्यात्मिक लाभ पुर्याउन समेत यस्तो विश्वविद्यालयको आवश्यकता भएको संस्थाका अध्यक्ष लुम्सालीले बताएका छन् ।
छलफल कार्यक्रममा उक्त विश्वविद्यालय स्थापनाका लागि सरकार, राजनीतिक दल, शिक्षा निकाय, विज्ञलगायतसँग प्रस्तुत गरिएका अवधारणा र प्रगतिबारे पनि जानकारी गराइएको थियो । षडानन्द विश्वविद्यालय स्थापनाको उद्देश्यले २०७८ सालमा ओम् षडानन्द कर्मयोग आश्रमको स्थापना गरिएको थियो ।
सोही आश्रमद्वारा विश्वविद्यालय स्थापनार्थ विभिन्न प्रचारात्मक गतिविधि हुँदै आएको बताइएको छ, जसअनुसार षडानन्द नगरपालिकाबाट २०८१ जेठ १३ मा नगरप्रमुख संरक्षक र उपप्रमुख सहसंरक्षक रहेको १५ सदस्यीय ‘षडानन्द विश्वविद्यालय सरोकार समाज’ दर्ता गरिएको थियो । समाजले निजीक्षेत्र, स्थानीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा ‘षडानन्द कृषि एवं योग विश्वविद्यालय’ स्थापनाका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष संस्थागत अवधारणापत्र प्रस्तुत गरिसकेको छ । मुख्यमन्त्री कार्कीले उक्त विश्वविद्यालय स्थापनाका लागि पूर्वसम्भाव्यता अध्ययन कार्यदल गठनका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । समाजले विश्वविद्यालय स्थापनाका लागि नैतिक समर्थनको अपेक्षासहित संस्थाको अवधारणापत्र राष्ट्रपति रामचन्द्र पौडेलसहित विभिन्न राजनीतिक दलका प्रमुख नेतासमक्ष समेत प्रस्तुत गरेको छ ।