भन्सार, सुरक्षा चेकपोष्ट, मुद्रा, पूर्वाधारलगायतका समस्या व्यापारीले दैनिक झेलिरहनु परेको छ । यस्ता समस्याको हल गर्न उच्चस्तरीय व्यापार सहजीकरण समितिले काम गरिरहेको छ । यो समिति नेपालले वस्तु निर्यात गर्ने तथा आयात गर्ने सबै देशबीचको व्यापार सहजीकरण र अभिवृद्धिमा क्रियाशील छ । चीनसँगको व्यापार विस्तार र समस्या समाधान समाधानमा पनि यो समिति क्रियाशील छ । तर, समितिले चीनसँगको व्यापारमा सहजीकरण गर्न सकिरहेको छैन । त्यसैले स्थायी संयन्त्रको आवश्यकता महसुस भएको हो ।
व्यवसायीले लामो समयदेखि स्थायी संयन्त्र गठन गर्न आग्रहगरिरहेका थिए । नेपाल–चीनबीचको व्यापारका समस्याको हल गर्न ल्हासामा महावाणिज्य दूतावास स्थापना गरिएको छ । सीमावर्ती शहर खासामा महावाणिज्य दूतावासको शाखा समेत छैन । नेपाली व्यवसायीले यही क्षेत्रमा धेरै समस्या झेल्नुपर्छ । खासामा पनि महावाणिज्य दूतावासको शाखा खोल्न सरकारसँग व्यवसायीले आग्रह नगरेका होइनन् । तर, सरकारले व्यवसायीका मागलाई सम्बोधन गर्न चासो देखाएन । खासामा दूतावासको शाखा खोलिने हो भने चिनियाँ पक्षबाट हुने झन्झट निश्चित रूपमा कम हुन्छ । व्यवसायीसँगको एक अन्तरक्रियामा मुख्यसचिव लीलामणि पौड्यालले नेपाल–चीनबीचको आर्थिक विकासका लागि अन्तरमन्त्रालय स्थायी संयन्त्र बनाउने उद्घोष गरेका छन् ।
(नेपाल हिमालय सीमापार वाणिज्य महासंघका प्रथम उपाध्यक्ष केशवबहादुर रायमाझीसँगको कुराकानीबाट)
वर्ष ८, अंक १४३, शुक्रवार, २४ माघ, २०६९