काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले यही मङ्सिर २५ गते ३८औं वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकको मङ्सिर ३ गते बसेको सञ्चालक समितिको बैठकले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सभा बस्ने निर्णय गरेको हो ।
सभाले हाल कायम चुक्तापूँजीको ६ दशलमव ५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै बैंकको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्न र आवश्यक परेको खण्डमा प्रबन्धपत्र तथा नियमावलीको संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ ।
साथै सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि बैंकले मङ्सिर ६ गते क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा भोलि अर्थात् मङ्सिर ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।