काठमाडौं । सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार (आज) सूनको भाउ प्रतितोला २ हजार ६ सय रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो । बुधवार १ लाख २५ हजार २ सय रुपैयाँ कारोवार भएको सुन आज तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि गत फागुन २९ गते सुनको मूल्य तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको थियो । यसको ९ दिनमै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको हो । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीवार १ हजार ५५५ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मनिरत्न शाक्यका अनुसार पछिल्लो समय सुनको मूल्यमा यसरी उछाल आउनुमा ठ्याक्कै यही नै हो भन्ने कारण नदेखिएको बताउँछन् । यद्यपि सुनको बजारलाई प्रभाव पार्ने केही कारक रहेको बताए । रुस-युक्रेन युद्ध, इजरायल र प्यालेस्टाइन युद्धको प्रभाव परिरहेको समयमा वैदेशिक व्यापारमा डलरको विश्वास घट्दै जानु पनि एउटा कारक रहेको उनले बताए ।
'पछिल्लो समय डलरको विश्वसनीयता कम भएको छ । वैदेशिक व्यापारमा डलरको सट्टा अन्य युरो, युआनजस्ता मुद्रा प्रयोग भइरहेको छ । यी मुद्रा प्रशस्त नहुँदा सुनमार्फत भुक्तानी भएको छ, यो पनि कारक हो जस्तो लागेको छ,' उनले भने ।
बैंकहरूले निक्षेपमा ब्याज घटाउँदा सुनको मूल्यलाई प्रभाव पारेको भन्दै उनले थपे, 'बैंकहरूले निक्षेपमा ब्याज घटाउँदा यता (सुनमा) लगानी बढेको पनि हुन सक्छ ।'